पत्रकार किरण छेत्री मातृ शोकमा, दिदी र आमा दुवैको अन्त्येष्टि कार्य 16 मार्चमा हुने

खरसाङ : पत्रकार किरण छेत्री मातृ शोकमा परेका छन्‌। उनकी आमा पुष्पलता छेत्रीको बिहीवार बिहान सिलगढ़ीको एउटा निजी नर्सिङ होममा निधन भएको छ। दिवङ्गत श्रीमती छेत्री निकै अघिदेखि मधुमेह, उच्च रक्तचाप अनि मृगौलाको रोगले ग्रसित थिइन्‌। केही दिन अघि तिनी निकै सिकिस्त भएपछि दार्जीलिङ सदर अस्पतालमा भर्ती भएकी थिइन्‌। दार्जीलिङ सदर अस्पतालमा उनको स्वास्थ्यमा भने जस्तो सुधार नभएकोले सिलगढ़ीको एउटा निजी नर्सिङ होममा भर्ती गरिएको थियो। उक्त नर्सिङ होममा उपचारकै क्रममा तिनको आज निधन भयो। तिनले आफूपछि पति केबी छेत्री, छोरी सुश्री शर्मिला छेत्री अनि छोरा किरण छेत्रीलाई छोड़ेर गएकी छिन्‌। तिनको अन्तिम संस्कारको यात्रा शुक्रवार दिँउसो निजी निवासस्थान सोनादा नालीचउरबाट निकालिइनेछ। स्मरण रहोस, पत्रकार किरण छेत्रीका दिदी प्रमिला छेत्रीको पनि गत 22 फरवरीको दिन सिलगढ़ीको एउटा निजी नर्सिङ होममा स्वास-प्रश्वासको बिमारीले निधन भएको थियो। प्रमिला छेत्रीको अन्त्येष्टि कार्य 6 मार्चको दिन निजी निवासस्थान नालीचउरमा सम्पन्न हुने तय भएको थियो। आफ्नो दिदी प्रमिला छेत्रीको अन्त्येष्टि कार्य सम्पन्न गर्न नपाई किरण छेत्रीले आफ्नो अतिप्रिय आमालाई गुमाएका छन्‌। पत्रकार किरण छेत्रीको दिदीको अन्त्येष्टि आगामी 6 मार्चको दिन हुने भएको थियो तर आमाको पनि निधन भएपछि दुवैको अन्त्येष्टि कार्य आगामी 16 मार्च 2021 को दिन एकैदिन गरिने तय भएको पारिवारिक पक्षबाट जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *