फुटपाथबाट दोकानहरू हटाएपछि व्यवसायीहरूद्वारा डेपुटी मेयरलाई घेराउ

सिलगढी :  सिलगढी विधान मार्केटको सडक, फुटपाथ दखल गरेर दोकान अघि प्लास्टिक लगाएर धेरैजनाले व्यवसाय चलाएर जीवन धानिरहेका छन्। सिलगढी नगरनिगमको तर्फबाट आज ती दोकानहरू हटाइदिएपछि व्यवसायीहरूले रूष्ट बनेर डेपुटी मेयर रञ्जन सरकारलाई घेरेर विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार आज बिहान डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद मानिक दे र बोरो चेयरम्यान मोहम्मद आलम खान सिलगढीको खुदीरामपल्ली, विधान मार्केटमा गएर त्यहाँको फुटपाथ दखल गरेर लगाइएको केही दोकानहरू हटाइदिए। नगरनिगमका कर्मचारीहरूले फुटपाथ दखल गरेर दोकान अघि लगाइएको तारपोलिन, प्लास्टिकहरू खोलिदिएपछि व्यवसायीहरूले डेपुटी मेयर रञ्जन सरकारलाई घेरेर विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगे। यस अवसरमा रञ्जन सरकारले भने, फुटपाथ, सडक दखल गर्न पाइनेछैन। दोकान अघि प्लास्टिक लगाएकोले गर्दा वाहनहरू आउजाउ गर्न निक्कै असुविधा हुने गर्दछ। नगरनिगमको तर्फबाट सहरको विभिन्न ठाउँमा यस प्रकारको अभियान चलाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *