पीड़ित आदिवासी नाबालिकालाई भेट्न पुगे केन्द्रीय मन्त्री प्रह्लाद सिंह पटेल

सिलगढी : केन्द्रीय पर्यटन मन्त्री प्रह्लाद सिंह पटेल र दार्जिलिङ जिल्ला सांसद राजु विष्ट आज दुष्कर्म पीड़ित आदिवासी नाबालिकासित भेट गर्न उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पुगे। यस अवधि तिनीहरूले पीड़िताको वर्तमान स्थितिबारे चिकित्सकहरूबाट जानकारी लिए। पीड़ितासित भेट गरेपछि अस्पतालबाट बाहिर प्रहलाद सिंह पटेलले मेडिकल कलेजको वर्तमान स्थिति देखेर क्षोभ प्रकट गर्दै मेडिकल कालेजभन्दा राम्रो व्यवस्था पशु चिकित्सालयको रहेको बताए। बङ्गालमा वर्तमान सरकारको अत्याचार कति बढेको छ भन्नेबारे नाबालिकासित भएको दुष्कर्मको घटनाले प्रत्यक्ष प्रमाण दिँदछ भन्दै तिनले पीड़ित नाबालिकालाई न्याय दिलाउन आफू साथमा रहेको बताए। अर्कोतिर, दार्जिलिङका सांसद राजु विष्टले खोरीबारीको 10 वर्षीय आदिवासी नाबालिकासित भएको दुष्कर्मको घटना अति नै निन्दनीय रहेको बताउँदै घटनामा सत्ताधारी दल संलग्न रहेको यो पहिलो घटना होइन भनी जनाए। पुलिस प्रशासनले प्रत्येक मामिलामा तृणमूल नेताहरूलाई बचाउने प्रयास गर्ने गरेको तिनले आरोप लगाए। तिनले राज्य सरकारमाथि कटाक्ष कस्दै नेशनल क्राइम रिपोर्ट ब्युरोको डाटा अनुसार बङ्गालमा महिलाहरूमाथि सबैभन्दा अधिक अत्याचार हुने गर्दछ। वर्ष 2018-सम्ममा बंगालबाट लगभग 65 हजार महिलाहरू निखोज भएका छन् भने  महिलाहरूमाथि हुने अत्याचारको मामिलामा बंगाल तेस्रो स्थानमा रहेको तिनले दावी गरे। बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी स्वयम् महिला भए तापनि यस राज्यमा सबैभन्दा अधिक महिलाहरूमाथि नै अत्याचार हुने गर्दछ भन्दै तिनले अब बंगालको जनताले यसलाई सहन नगर्ने बताए। स्मरण रहोस्, खोरीबारीको बुढ़ागञ्ज पञ्चायतको शुकारूजोतमा केही दिन अघि एउटी 10 वर्षीय आदिवासी नाबालिकासित दुष्कर्म भएको थियो। उक्त घटनाको आरोपी सत्तारूढ दलसित संलग्न रहेकोले यो घटनालाई लिएर राजनीतिक माहौल गर्मिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *