पुलिस रिपोर्टले भागोप्रमो नगरपार्षद उषा राईको पोल खोलेको दावी, चुनाउ आयोग समक्ष जाने तर्खरमा हाम्रो पार्टी

दार्जिलिङ : पुलिस रिपोर्टले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निर्वाचित दार्जिलिङका नगरपार्षद उषा राईको पोल खोलिएको हाम्रो पार्टीले दावी गरेको छ। दार्जिलिङ शहरको क्यापिटल हलस्थित विपक्षी नगरपार्षदहरूको कार्यालयमा आज दार्जिलिङ नगरपालिकाको पूर्व चेयरम्यान रितेश पोर्तेल, हाम्रो पार्टीका केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 15 बाट भागोप्रमो-का निर्वाचित नगरपार्षद उषा राईको सन्दर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले राज्य चुनाउ आयोग समक्ष एउटा ज्ञापन पत्र चढाएका थिए। उक्त पत्रको आधारमा राज्य चुनाउ आयोगले नगरपार्षद उषा राईको बारेमा पोस्ट अफिस र दार्जिलिङ पुलिससँग रिपोर्ट मागेको थियो। दार्जिलिङ पुलिसले पोस्ट अफिससँग उषा राईको सबै रिपोर्टहरू मागेर एक रिपोर्ट तयार गरेको छ अनि उक्त रिपोर्ट दार्जीलिङ पुलिसले हाम्रो पार्टीलाई पठाएको पार्टी महासचिव फर्तेम्बा भोटियाले बताए।


तिनले अझ भने, उषा राई पोस्ट अफिसमा कार्यरत् एकजना सरकारी कर्मचारी थिए तर तिनले 1 करोड 15 लाख 42 हजार 610 रूपियाँ हिनामिना गरेको विभागीय जाँचमा स्पष्ट भएपछि तिनलाई विभागीय अधिकारीले सेवाबाट निष्कासित गरेका थिए। यसको साथै तिनी विरूद्ध मामिला समेत गरेको कुरा रिपोर्टद्वारा खुलासा भएको महासचिव भोटियाले बताए। कुनै पनि सरकारी कर्मचारी भष्ट्राचार आदि जस्ता विषयमा लिप्त रहेको प्रमाण पाएको खण्डमा चुनाउ आयोगद्वारा निर्वाचित जन प्रतिनिधिको पदभारमा बस्ने अधिकार नभएको बंगाल नगरपालिका एक्टमा उल्लेख रहेको महासचिव भोटियाले बताए। हाम्रो पार्टीको टोली अब चाँडै नै कोलकता जानेछ अनि राज्य चुनाउ आयोग समक्ष पुलिसद्वारा जारी गरिएको रिपोर्ट सुम्पिनेछ भन्ने महासचिव भोटियाले आज पत्रकारहरूलाई जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *