प्रसनजीतको समर्थकहरूले गरेको ड्राई पोर्ट घटनाले पार्टीको छवि खराब भएको छ : अरूप रतन घोष

सिलगढी : एनजेपी ड्राई पोर्टमा आईएनटीटीयुसी नेता प्रसनजीत रायको नेतृत्वमा तोड़फोड़ साथै हमला भएको अभियोग उठेको छ। उक्त घटनाले तृणमूलको छवि खराब भएको आईएनटीटीयुसी जिल्ला सभापति अरूप रतन घोषले बताए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको सिलगढी भ्रमण अवधि यस प्रकारको घटना हुनु अनैतिक र सटीक नरहेको तिनले बताए। स्मरण रहोस्, एनजेपी ड्राई पोर्टमा स्थानीय श्रमिकहरूलाई नियुक्त गरिनुपर्ने मागलाई लिएर हिजो उक्त इलाकामा विक्षोभ प्रदर्शन गरिनको साथै दुई गुटमाझ भएको विवादपछि त्यहाँको माहौल उतप्त बन्न पुगेको थियो। यसको साथै केही प्रदर्शनकारीहरूलाई पुलिसले पक्राउ गरेपछि स्थिति अझ उग्र बन्दै यहाँको शुल्क कार्यालय पनि तिनीहरूले तोड़फोड़ गरे। उक्त कार्यालयको तोड़फोड़मा करोडौँ रुपियाँको क्षति भएको बताइएको छ। उक्त घटना अवधि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढी स्थित उत्तरकन्यामा नै थिइन्। उक्त घटनालाई लिएर तृणमूल कङ्ग्रेसका नेताहरूले प्रसनजीत रायको भूमिकालाई लिएर क्षोभ प्रकट गरे। अर्कोतिर, प्रदर्शनकारीहरूलाई पक्राउ गरिएकोमा प्रतिवाद जनाउँदै समर्थकहरूले आज एनजेपी स्टेसन परिसरको दोकानपाटहरू अनि वाहनहरूको चलाचल बन्द गरेपछि आईएनटीटीयुसी जिल्ला सभापति अरूप रतन घोष घटनास्थलमा पुगेर सबै दोकानेहरूलाई दोकानपाट खोल्ने अपील गरे। यसको साथै डाबग्राम फुलबारी क्षेत्रका विधायक तथा मन्त्री गौतम देव हाल कोलकातामा रहेकोले तिनी फर्केर आएपछि यसबारे बैठक गरेर समस्याको समाधान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *