प्रायःजसो सडक दुर्घटना हुने गरेकोले भाजपाद्वारा ईस्टर्न बाइपास सडक अवरोध गरेर विक्षोभ

सिलगढी : ईस्टर्न बाइपासमा प्रायःजसो सडक दुर्घटनाहरू हुने गर्दछ। दुर्घटनामा परेर मानिसहरूले प्राण समेत गुमाउने गर्दछन्। यस्तो स्थितिमा पुलिसको भूमिकालाई लिएर प्रश्न चिन्ह खडा गर्दै भाजपा सडकमा ओर्लिएको छ। डाबग्राम-फुलबारी विधानसभाका भाजपा विधायक शिखा च्याटर्जीको नेतृत्वमा भाजपाका नेता तथा कार्यकर्ताहरूले आज ईस्टर्न बाइपासको बानेश्वर मोड इलाकामा सडक अवरोध गरे। भाजपाको आरोप अनुसार उक्त सडकको दुवै किनारमा स्ट्रिट लाइड नभएर अँध्यारो हुने गरेकोले गर्दा दुर्घटनाहरू हुने गर्दछ। एसजेडीएको तर्फबाट सडक मरमतिको लागि स्ट्रिट लाइट हटाइएको थियो। उक्त सडकको मरमति कार्य पुरा भए तापनि स्ट्रिट लाइट पुनः जडान गरिएको छैन। यसले गर्दा उक्त सडकमा प्रायःजसो दुर्घटनाहरू हुने गर्दछ। हालैमा सडक दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको थियो। उक्त सडकमा पैदल यात्रुहरू समेत असुरिक्ष महसुस गरिरहेका छन्। यस्तो स्थितिमा विधायक शिखा च्याटर्जीले सडक सुरक्षाको लागि चाँडै स्ट्रिट लाइटको व्यवस्था गरिनुपर्ने साथै पुलिस पेट्रोलिङ गरिनुपर्ने माग गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *