प्रेमिकाको हत्या गरेर 4 महिनाअघि माटोमुनि गाडेको शव उद्धार, हत्यारासित सोधखोज जारी

सिलगढी : प्रेमिकाको हत्या गरेर माटोमुनि गाडेको शव आज घटनाको 4 महिनापछि मतिगढा थाना पुलिसले माटो खनेर उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार केही दिनअघि मतिगढाको परिवहन नगर नजिक एउटी महिलाको शव उद्धार गरेको थियो। घटनाको सन्देहमा मोहम्मद अख्तार हुसेनलाई पुलिसले पक्राउ गरेर सोधखोज गरेपछि तिनले पुलिस सामु गत 4 महिना अघि प्रेमिकाको हत्या गरेर तिनको शव मतिगढा रेलगेट नजिकमा रहेको गोदाम पछिल्तिर गाडिदिएको कुरा स्वीकारे। यसपछि आज दिउँसो मजिस्ट्रेटको उपस्थितिमा मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर माटो खनेर हेर्दा शव भेट्टाइयो। अर्कोतिर, पुलिसले उक्त मृतक युवतीको आमालाई शव चिन्हित गर्नको लागि साथमा लगेको थियो। पुलिस सूत्रले दिएको जानकारीअनुसार मोहम्मद अख्तार हुसेनको विवाहपछि पनि उक्त युवतीसित अवैध सम्बन्ध रहेको कुरा सोधखोजको क्रममा मोहम्मदले बताए। गत 4 महिना अघि एकदिन दुवैले मदपान गरेपछि कुनै विषयलाई लिएर ती दुईमाझ विवाद हुँदा मोहम्मदले आफ्नी प्रेमिकाको हत्या गरेपछि शव माटोमुनि गाडेको थियो। घटनालाई लिएर आरोपी मोहम्मदसित पुलिसले सोधखोज गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *