प्रेमको भयावह नतिजा, बर्थ डे-मा प्रेमीलाई दियो ‘विभत्स मृत्यु’ उपहार

सिलगढी (निसं):  दोकानको मालिक र कर्मचारीमाझ समलैंगिक सम्बन्ध रहेको थियो। तथापि उक्त सम्बन्धमा अन्य कुनै तेस्रो व्यक्ति रहेको सन्देहमा मालिकले आफ्नो कर्मचारीलाई तिनको जन्मदिनमा आकर्षक उपहार दिए मृत्यु। उक्त घटनाको वास्तविकता प्रकाशमा आएपछि सबैजना मानिसहरू आश्चर्यचकित बन्न पुगेका छन्। घटनाक्रम अनुसार, गत 6 दिसम्बर बिहान बाघडुग्रा थाना पुलिसले खैरानी जोत इलाकाको एउटा मैदानबाट एकजना अज्ञात युवकको शव उद्धार गरेको थियो। यसपछि तिनको पोस्टमार्टम रिपोर्ट अनुसार उक्त युवकको हत्या गरिएको रहस्योत्घाटन भएको थियो। यस रहस्यमय हत्याकाण्डको जाँचमा जुटेको बाघडुग्रा थानाको पुलिसले अन्तत: रहस्यको सम्पूर्ण घटनाबारे पर्दा उठाइदिएको छ भने यस रहस्यमय मृत्युको कारण पनि पुलिसले पत्तो लगाएको बताइएको छ। जाँच अवधि मृतक युवकको परिचय कुणाल सिंह (20)-को रूपमा पुलिसले चिन्हित गरेको थियो। यसपछि बाघडुग्रा पुलिसले घटनास्थल अनि मोबाइलको सहयोगमा जाँचलाई अघि बढाएर यस हत्याकाण्डको मुख्य आरोपी अनि तिनको एकजना साथीलाई गत राति पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको नाम विश्वजीत शील उर्फ बबाई (25) र एमडी मौफिस (18) रहेको छ।


दुवैजनालाई सोधखोज गरेपछि थाहा लागे अनुसार मृतक कुणाल सिंह बाघडुग्रामा विश्वजीत शीलको खेलौना दोकानमा काम गर्थे। यस अवधि विश्वजीत र कुणालमाझ समलैंगिक सम्बन्ध भएको थियो। यसपछि दुवैमाझ सबै राम्रै चलिरहेको थियो। तर यस अवधि विश्वजीत शीललाई अन्य कसैसित कुणालको सम्बन्ध रहेको आशंका लागेपछि विश्वजीत शीलले कुणाललाई मन पराउन छोडे। यसपछि गत 5 दिसम्बर मृतक कुणाल सिंहको जन्मदिनमा विश्वजीतले तिनलाई धेरैपल्ट कल गरे तर कुणालले फोन उठाएन। यसपछि विश्वजीतलाई अझ धेर रिस उठ्यो। तथापि पछि कुणालसित विश्वजीतको फोनमार्फत कुरा भयो। यता, विश्वजीत आफ्नो योजना अनुसार कुणाललाई बाघडुग्राको खैरानी जोत इलाकाको एउटा खाली मैदानमा बोलाएर विश्वजीत, एमडी मौसिफ र कुणालले बर्थ डे पार्टी मनाए। तीनै जनाले रमाउँदै भक्कु रम-रक्सी पनि खाए। यसपछि विश्वजीत शील र एमडी मौसिफ दुईजना मिलेर कुणालको घाँटी दबाएर तिनको हत्या गरे। सूत्रले दिएको जानकारी अनुसार कुणालले आफ्नो प्रेमी विश्वजीतलाई मोबाइल फोन गिफ्टमा मागेका थिए, तर विश्वजीतले तिनलाई तिनकै बर्थ डे-मा दिए मृत्युको उपहार। पुलिस सूत्रमार्फत थाहा लागे अनुसार आरोपी विश्वजीत शीलले आफ्नो साथी एमडी मौसिफलाई कुणालको हत्या गर्नमा साथ दिनको लागि 2700 रूपियाँ दिएका थिए। हाल बाघडुग्रा थाना पुलिसले दुवै आरोपीलाई हत्याको मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरे। अदालतले दुवै आरोपीलाई न्यायिक जाँचको लागि पुलिस रिमान्डमा लैजाने निर्देश दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *