पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका सदस्यहरूद्वारा जीर्ण बन्दै गइरहेको सडकको सर-सफाई

बिजनबारी (निसं): पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका सदस्यहरुले यस क्षेत्रको जीवन रेखा मानिने मुल सड़कको आज साफ-सफाई गरे। घुम भञ्ज्याङदेखि पुल बिजनबारी क्षेत्रको मूल सड़कको अवस्था अत्यन्त सोचनीय बन्दै गइरहेको छ। यही अवस्थालाई ध्यानमा राख्दै पीबीएसटीए तथा पुल बिजनबारी सिलगढी ट्याक्सी एसोसिएसनका सदस्यहरुले मूल सड़कको साफ-सफाई, खाल्टोहरु पुर्ने अनि नालाहरु खोल्ने कार्य गरेका छन्। सफाई कार्यमा लगभग 30 जना सदस्यहरु थिए। एसोसिएसनका सभापति विजय तामाङले सड़कको अवस्था अत्यन्तै सोचनीय भएकोले साफ-सफाई गर्ने कार्य गरेको बताए।


यसैगरी,एसोसिएसनका उप सभापति सुवास प्रधानले यो सड़क असल हुनु पर्ने बताउँदै सड़क पुल बिजनबारी लगायत विभिन्न कमान र बस्ती क्षेत्रका वासिन्दाहरूको निम्ति एउटा जीवन रेखा मानिने भएकोले यो अत्यन्त महत्वपूर्ण सडक हो भनि बताए। सडकको अवस्था यस्तो दयनीय हुँदा पनि विभागीय अधिकारी, कर्मचारी र जीटीए कतातिर छ भन्दै तिनले प्रश्न तेर्साए। सड़कको अवस्था कहिल्यै राम्रो नभएकोले चालक दाजु-भाईहरु नै सँधै असुविधाको जाँतोमा पिसिँदै आइरहेको तिनले दुखेसो पोखे। यसैगरी, पीबीएसटीए-का अर्का सदस्य शुक्र तामाङले पनि गुनासो गर्दै यो सडक कमान बस्ती भेकमा खटिखाने श्रमिक र कृषक दाजु-भाईहरुको निम्ति अत्यन्त महत्वपूर्ण सड़क रहेको बताए। हाल पुल बिजनबारी क्षेत्रमा धेरै बेरोजगार दाजु-भाईहरुले होम स्टे चलाएर आफ्नो अनि परिवारको जीविका चलाउने कार्य गरिरहेका छन् तर यस सड़कको जीर्ण अवस्थाले तिनीहरूको होम स्टे व्यवसायमा पनि प्रभाव परिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *