पूर्व काउन्सिलरमाथि भएको हमलाको घटनाबारे थानामा ज्ञापन

सिलगढी : होटल व्यवसायी तथा पूर्व काउन्सिलर समीर दे-लाई कुटपीट गरेको घटनापछि एनजेपी स्टेसन मार्केट व्यवसायी समितिले आज एनजेपी थानामा एउटा ज्ञापन चढाएको छ। आरोपीहरू विरुद्ध चाँडै उचित कार्वाही गरिनुपर्ने साथै व्यवसायीहरूको सुरक्षाको व्यवस्था गरिनुपर्ने माग गर्दै आज व्यवसाय समितिले एनजेपी थानाका ओसी समीर तामाङसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ। यस सम्बन्धमा समितिका सचिव सत्यजीत दे-ले बताएअनुसार यस प्रकारको घटना फेरि नदोहोरिने प्रशासनको तर्फबाट आश्वासन दिएको छ। तथापि, आगामी दिनमा यस प्रकारको घटना दोहोरिएको खण्डमा वृहत् आन्दोलन गर्ने तिनले बताए। प्राप्त जानकारीअनुसार गत राति केही दुष्कृतिहरूले होटल व्यवसायी तथा पूर्व काउन्सिलर समीर दे-माथि हमला गरेपछि घाइते अवस्थामा उद्धार गरेर तिनलाई उपचारको लागि अस्पताल लगियो। घटनापछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्यायो। आरोपी व्यक्तिविरुद्ध थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले गत राति नै मोहम्मद साकिल र फकीर नाम गरेका दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *