पूर्व केएलओ सदस्यद्वारा भोलि जलपाईगढीमा धरना प्रदर्शन गर्ने

जलपाईगढी : कामतापुर लिबरेशन अर्गनाइजेशन (केएलओ)-का पूर्व सदस्यहरू तथा लिङ्कम्यानले जिल्ला पुलिस अधिकारीहरूसित बैठक गरे तापनि तिनीहरूद्वारा चलाइएको बृहद आन्दोलन फिर्ता लिएको छैन। सन् 2003-04 मा भोटाङमा सेना वाहिनी अपरेशन अल क्लियर र अपरेशन फ्लेशआउटपछि एकपछि अर्को गर्दै केही केएलओ आतङ्कवादीहरू पक्रा परेका थिए भने केही आतङ्कवादीहरूले आत्मसमर्पण गरेका थिए। पूर्व केएलओ सदस्यहरूको भनाइअनुसार वामपन्थी कार्यकालमा तिनीहरूलाई झुटो मामिलामा फँसाएको थियो। यसको साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पूर्व केएलओ आतङ्कवादीहरू तथा लिङ्कम्यानलाई नोकरी दिने घोषणा गरेपछि केही पूर्व केएलओहरूले मात्र नोकरी पाए तापनि अधिकांश सदस्यहरू नोकरी नपाएर हालसम्म बेरोजगार छन्। लकडाउनले गर्दा तिनीहरूको आर्थिक स्थिति निक्कै खराब भएकोले गर्दा तिनीहरूले मुख्यमन्त्रीले गरेको वाचा अनुसार पूर्व केएलओ तथा लिङ्कम्यानहरूलाई नोकरी दिनुपर्ने माग गर्दै भोलि 19 जनवरीको दिन जलपाईगढी जिल्ला पुलिस सुपर अफिस अघि धरना प्रदर्शन गर्ने भएका छन्। यसपछि पनि कुनै समाधान नभए तिनीहरूले भोक हड़ताल, पथ अवरोध मात्र नगरेर बृहद आन्दोलन समेत गर्ने पूर्व केएलओका सदस्यहरूले चेताउनी दिएका छन्। जलपाईगढी जिल्ला पुलिसले हिजो केएलओ सदस्यहरूसित गरेको बैठकमा आन्दोलनबाट तिनीहरूलाई पछि हट्ने निर्देश दिएको थियो। तर तिनीहरूले जबसम्म नोकरी पाउँदैनन् तबसम्म आन्दोलन जारी राख्ने बताएका छन्। केएलओका पूर्व सदस्य विश्वेश्वर रायले बताएअनुसार तिनीहरू नोकरी गर्नको लागि बाहिर जान सक्दैनन् साथै उमेर पनि बढ्दै गइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *