पीडब्ल्युडी-को जमीनमा गरिएको अवैध निर्माणको एसआरओ टोलीद्वारा निरीक्षण

सिलगढी: सिलगढीमा पीडब्ल्युडी-को जमीनमा गरिएको अवैध निर्माणको निरीक्षण गर्नको लागि एसआरओ 2-को टोली आज घटनास्थलमा पुग्यो। प्राप्त जानकारीअनुसार सिलगढीको एसएफ रोड संलग्न उर्वशी सिनेमा हल नजिक जलपाईगढी सर्किट बेञ्चको वकील अजय चौधरीको घरअघि पीडब्ल्युडी-को जमिन रहेको छ। उक्त जमिनमा अवैध निमार्ण गर्नको साथै त्यहाँ विभिन्न असामाजिक कार्यहरू हुने गरेको बताइएको छ। यसबारे अजय चौधरीले कलकत्ता हाईकोर्टको जलपाईगढी सर्किट बेञ्चमा एउटा मामिला दर्ता गरेपछि कलकत्ता हाईकोर्टले पीडब्ल्युडी-को उक्त जमिनबाट अवैध निर्माण भत्काउने निर्देश दिएको छ। यसैले आज लोक निर्माण विभागको निर्देशअनुसार एसआरओ-को एउटा टोली निरीक्षण गर्न घटनास्थलमा पुगे। निरीक्षणपछि एसआरओ-को टोलीले अजय चौधरीको घर नजिक रहेको 5 वटा दोकान पीडब्ल्युडी-को जमिनमा अवैध रूपमा निर्माण गरेको थाहा पाए।  उक्त टोलीले यसबारे पीडब्ल्युडी-लाई एउटा रिपोर्ट पठाउने साथै पीडब्ल्युडी र कलकत्ता हाईकोर्टको निर्देशअनुसार कार्य गरिने तिनीहरूले बताए। वकील अजय चौधरीले बताएअनुसार आफू दीर्घदिनदेखि उक्त इलाकामा बस्दै आइरहेको साथै केही दिनअघि तिनको घर नजिक रहेको पीडब्ल्युडी-को जमिन दखल गरेर अवैध दोकानहरू बनाएको छ। उक्त दोकान नाममा विभिन्न असामाजिक कार्य भइरहेकोले गर्दा तिनले यसबारे मामिला दर्ता गरेको बताए। अर्कोतिर, दोकानेहरूको भनाइअनुसार दीर्घदिनदेखि आफूहरूले यहाँ दोकान चलाएर परिवारको भरण पोषण गर्दै आइरहेको छ। यदि आफूहरूलाई यहाँबाट हटाए निक्कै समस्या भोग्नपर्ने बताउँदै आफूहरूलाई यहाँबाट नहटाउने दोकानेहरूले माग गरेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *