रेलवे लाइनको दुवैपट्टि पिलर लगाएपछि बाघडुग्रा प्रमोदनगर इलाकाका मानिसहरू समस्यामा

बाघडुग्रा: सुरक्षालाई ध्यानमा राखेर रेल लाइनको दुवैपट्टि पिलर लगाएको विषयलाई लिएर बाघडुग्राको प्रमोदनगर इलाकामा उत्तेजनाको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार हिजो रेलवे विभागको पहलमा बाघडुग्रा प्रमोदनगरको प्रवेशद्वारमा रहेको रेलवे क्रसिङमा रेल लाइनको दुवैपट्टि पिलर लगाएपछि उक्त बाटो भएर वाहनहरूको चलाचल बन्द भएकोले इलाकाका मानिसहरूले क्षोभ प्रकट गरे। अर्कोतिर, आज बिहानैदेखि त्यहाँ इलाकाका मानिसहरूले भीड जमाउन थालेपछि रेल लाइन बन्द हुने आशंकामा रेलवे पुलिस र बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेका थिए। रेलवेको तर्फबाट माइकिङ पनि गरियो। स्थानीय मानिसहरूको माग अनुसार धेरै समय अघिदेखि नै आफूहरूले उक्त समस्याको सामना गर्दै आइरहेका छौँ। यहाँ चलाचल गर्नको लागि कुनै वैकल्पिक बाटोको व्यवस्था गरियोस्। यस विषयमा स्थानीय मनोज ओझाले भने, 2021 सालदेखि नै उक्त समस्या रहेको छ। इलाकाको मानिसहरूले उक्त समस्यालाई लिएर अगावै रेलवे विभागलाई पत्राचार गरिसकेको छ। यसरी रेल लाइनको दुवैपट्टि पिलर लगाएर बाटो बन्द गरिदिए प्रमोदनगरमा बसोबास गर्ने हजारौँ मानिसहरूले असुविधाको सामना गर्नुपर्दछ। यहाँ फ्लाईओभर अथवा अन्डरपास बनाउनुपर्ने तिनीहरूले माग गरे। इलाकावासीहरूले यसबारे भाजपाका विधायक राजु विष्टलाई ज्ञापन पत्र चढाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *