राजवंशीलाई खुट्टासँग तुलना गरेपछि मुख्यमन्त्रीले माफी माग्नुपर्ने ग्रेटर कुचबिहार पिपल्स एसोसिएसनको माग

कुचबिहार : तृणमूल छात्र परिषदको स्थापना दिवसको अवसरमा हिजो कोलकातामा आयोजित छात्र समावेशको मञ्चमा मुख्यमन्त्री ममता ब्यानर्जीले राजवंशीलाई आफ्नै खुट्टासँग तुलना गरेपछि मुख्यमन्त्रीले माफी माग्नुपर्ने ग्रेटर कुचबिहार पिपल्स एसोसिएसनका महासचिव तथा राजवंशी भाषा अकादमीका अध्यक्ष वंशीवदन बर्मनले माग गरेका छन्। आज पत्रकार सम्मेलनको आयोजना गरेर वंशीवदन बर्मनले भने, हिजो मुख्यमन्त्रीले गरेको अभद्र टिप्पणीले हामी मर्माहत बनेका छौँ। यसको लागि मुख्यमन्त्रीले माफी माग्नुपर्छ। मुख्यमन्त्रीले राजवंशीको लागि भाषा अकादमी लगायत विविध विकासमूलक कार्यहरू गरेका छन्। तर मुख्यमन्त्रीले राजवंशीको अपमान गर्न पाउँदैनन्। आवश्यक परेको खण्डमा राजवंशी भाषा अकादमीको अध्यक्ष पद त्यागेर यसविरुद्ध आन्दोलन गर्ने तिनले चेताउनी दिए। स्मरण रहोस्, हिजो कोलकातामा तृणमूल छात्र परिषदको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, मेरो एउटा हात हिन्दू, अर्को हात मुस्लिम, एउटा आँखा पञ्जाबी, अर्को आँखा क्रिस्चियन, मेरो एउटा खुट्टा राजवंशी भन्दै टिप्पणी गरेकी थिइन्। तिनको उक्त टिप्पणीले राजवंशीको अपमानको भएको भन्दै वंशीवदन बर्मनले मुख्यमन्त्रीले माफी माग्नुपर्ने माग गरेका छन्। अर्कोतिर, यस विषयमा तृणमूल कङ्ग्रेसका प्रवक्ता पार्थप्रतिम रायले भने, मुख्यमन्त्रीले जुन विषयमा कुरा गरेको हो त्यसलाई बुझ्नमा गल्ती भएको हो। यस विषयमा वंशीवदन बर्मनसित स्वयम् कुराकानी गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *