राजगञ्ज बजारको 4 वटा दोकानमा चोरी

राजगञ्ज : राजगञ्ज बजारमा एकै रातमा 4 वटा दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज थानादेखि छेउमा रहेको 3 वटा सुनको दोकान र एउटा रासन दोकानमा चोरी भएको बताइएको छ। यस सम्बन्धमा रासन दोकानका मालिक सञ्जय सरकारले आज बिहानै दोकानमा आउँदा केही दुष्कृतिहरूले सटर भत्काएर दोकानमा चोरी गरेको थाहा पाए भने दोकानमा जडान गरिएको सीसीटीभीको हार्डडिक्स समेत चोरले लगेको बताए। दोकानमा रहेको सर-समान लगायत नगद लगभग 25 हजार रुपियाँ चोरी भएको तिनले बताए। उक्त क्षेत्रमा सिभिक भोलेन्टियर ड्युटीमा खटिए तापनि रातिको समय सुत्ने गरेको सुन्नमा आएको बताउँदै पुलिस प्रशासनले व्यवसायीहरूको सुरक्षाको व्यवस्था गरोस् भन्ने तिनले माग गरे।


अर्कोतिर, सुन दोकानका मालिक मङ्गल सोनारले भने, दोकानको सटर भत्काएर सुन र चाँदीको बहुमूल्य गर-गहना लगाएर मोठ 2 लाख रुपियाँको चोरी भएको छ। अन्य दुईवटा सुन दोकानमा मालिक अजय शा र कर्मी गौतम रायले पनि यस्तै अभियोग गरेका छन्। उक्त क्षेत्रमा बारम्बार चोरीको घटना हुने गरेकोले पुलिसको भूमिकालाई लिएर व्यवसायीहरूले क्षोभ प्रकट गरेका छन्। यस सम्बन्धमा व्यवसायी समितिका सचिव सञ्जीब मोदकले भने, रातिको समयमा यहाँ सिभिक भोलेन्टियरले ड्युटीमा रहे तापनि सुत्ने गर्दछन्। यसभन्दा अघि पनि राजगञ्ज बजारको एउटा सुनको दोकान, एउटा रासन दोकानमा चोरी भएको थियो भने गत राति फेरि यहाँको 4 वटा दोकानमा चोरी भयो। चोरीको घटनाबारे पुलिसलाई जानकारी गराएको छ भने यसबारे पुलिसले उचित पहल नगरेको खण्डमा आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *