राजगञ्ज बजारमा विधायकको जनसम्पर्क कार्यालयको उद्घाटन

राजगञ्ज: राजगञ्ज बजारमा विधायकको जनसम्पर्क कार्यालयको आज उद्घाटन गरियो। सुखानी अञ्चल तृणमूल कङ्ग्रेसको पहलमा तथा राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसको सहयोगमा राजगञ्ज बजारको पक्का सड़क नजिक उक्त जनसम्पर्क कार्यालय बनाइएको छ भने आज विधायक खगेश्वर रायले उक्त कार्यालयको विधिवत् रूपमा उद्घाटन गरे। यस अवसरमा रक्तदान शिविरको पनि आयोजना गरियो। यसबाहेक विभिन्न राजनीतिक पार्टी छोडेर लगभग 300 जना मानिसहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर रायले उक्त कार्यालयको निर्माणले जनसम्पर्क कार्यमा सुविधा हुनेछ। यसको साथै स्कुलका विद्यार्थीहरूदेखि लिएर साधारण मानिसहरूले विभिन्न कार्यको लागि यहाँबाट प्रमाण पत्र लिन सक्नेछन्। प्रत्येक महीनामा तीन दिन तिनी उक्त कार्यालयमा रहनेछन्। आजको उद्घाटन कार्यक्रममा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पूर्णिमा राय, जलपाईगढी जिल्ला युवा अध्यक्ष सैकत च्याटर्जी, जलपाईगढी जिल्ला युवा सह अध्यक्ष शेख उमर फारूक, राजगञ्ज युवा अध्यक्ष तुषार दत्त, अरिन्दम ब्यानर्जी लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *