राजगञ्जको बरुआपाड़ा चियाकमान बन्द भएपछि श्रमिकहरू समस्यामा

राजगञ्ज : राजगञ्जस्थित बरुआपाड़ा चियाकमान बन्द गरिदिएको छ। हिजो शुक्रबार कमान प्रबन्धनले सस्पेन्सन अफ वर्क नोटिस टाँसेर चियाकमान बन्द गरिदिएकोले उक्त कमान गर्ने लगभग 100 जना श्रमिकहरू समस्यामा परेका छन्। राजगञ्जको कुकुरजान ग्राम पञ्चायत अन्तर्गत बरुआपाड़ा चियाकमानमा तृणमूल कङ्ग्रेसको श्रमिक संगठन छ। चियापत्ती टिप्ने विषयलाई लिएर मालिकपक्ष र श्रमिकहरूमाझ मतभेद हुँदा कमान प्रबन्धनले सस्पेन्सन अफ वर्क नोटिस टाँसेर कमान बन्द गरिदिएको छ। चियाकमानका श्रमिक नेता मुशर्रफ हुसेनले बताएअनुसार सदा झैँ आज पनि श्रमिकहरू काममा आएका थिए तर मालिक पक्षले श्रमिकहरूलाई मसिनले चियापत्ती टिप्ने निर्देश दिए तापनि श्रमिकहरूले हातले चियापत्ती टिप्ने साथै आवश्यक परेको खण्डमा छुट्टीको दिनमा पनि चियापत्ती टिप्न तयार रहेको बताउँदै तिनीहरूले मसिनले चियापत्ती टिप्न अस्वीकार गरे। यता कमान प्रबन्धन मसिनले चियापत्ती टिप्ने कुरामा अडिग रहेको साथै श्रमिकहरूको दुई हप्ताको वेतन भुक्तान नगरी कमान बन्द गरिदिएको बताइएको छ। उक्त कमान खोल्नको लागि चाँडै जिल्ला श्रम विभागलाई आवेदन चढाउने भएको छ। अर्कोतिर, कमानका मालिक सोनी गोयलले फोन मार्फत् श्रमिकहरूको माग स्वीकार गर्दै कामबीच एक घण्टाको खाने छुट्टी र कामको समय पनि केही कम्ती गरिदिएको छ। धेरै वर्ष अघिदेखि श्रमिकहरूले हातले साथै मसिनको सहयोगले चियापत्ती टिप्दै आइरहे तापनि आज तिनीहरूले मसिनको सहयोगमा चियापत्ती टिप्न अस्वीकार गरे। समयमा चियापत्ती नटिपे नोक्सान हुने भए तापनि श्रमिकहरूले मसिन प्रयोग गरेर चियापत्ती टिप्न अस्वीकार गरेकोले कमान बन्द गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *