राजगञ्ज साहुडाङ्गीको एउटा घरमा आगलागी

राजगञ्ज : राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत पर्ने साहुडाङ्गी इलाकामा भयावह अग्निकाण्डमा एउटा घर जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार साहुडाङ्गी इलाका निवासी तुष्टामोहन राय र तिनका छोरा आज बिहान कामको सिलसिलामा बाहिर गएका थिए भने लगभग 11 बजी तिनको घरमा आगलागी भएको बताइएको छ। स्थानीय मानिसहरूले तिनको घरमा आगो देखेपछि आगो निभाउने प्रयास गर्नको साथै घटनाबारे दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर फुलबारीबाट दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगे तापनि घर सम्पूर्ण रूपमा जलेर खरानी भइसकेको थियो। घर मालिक तुष्टामोहन रायले बताएअनुसार उक्त आगलागीमा घरमा राखेको आवश्यक कागजपत्र जलेर खरानी भएको छ। आगलागीको खबर पाएर ग्राम पञ्चायत प्रधान शशिचन्द्र बर्मन घटनास्थल पुगे। सर्ट सर्किटको कारण उक्त आगलागी भएको हुनसक्ने साथै आगलागीमा परिवारको सारा समान लगायत घर सम्पूर्ण रूपमा जलेर खरानी भएको तिनले बताए। ग्राम पञ्चायतको तर्फबाट पीडित परिवारलाई सहयोग प्रदान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *