राज्यका कानून मन्त्री मलय घटकको घरमा सीबीआई-को रेड

कोलकाता: पश्चिम बंगालमा फेरि सीबीआई-ले छापामार अभियान सुरू गरेको छ। राज्यका कानून मन्त्री मलय घटकको निवासमा सीबीआई-ले आज बिहान आसनसोल कोइला घोटालाको सम्बन्धमा छापामार अभियान चलायो। सीबीआई अधिकारीहरूले मन्त्रीको घर लगायत अन्य विभिन्न ठेगानाहरूमा आज बिहान छापामार अभियान चलाएको छ। आज बिहान सबैभन्दा अघि सीबीआई-ले आसनसोलमा मन्त्रीको दुई वटा घरमा छानबिन शुरू गरेको थियो। यसपछि सीबीआई-को एउटा टीम तिनको कार्यालयमा पनि पुगेको थियो। प्राप्त जानकारी अनुसार सीबीआई-को टीमले मन्त्री मलय घटकको आसनसोलस्थित घरमा मात्र नभएर कोलकातास्थित लेक गार्डेनको घरमा पनि आज छापामार अभियान चलाए। सीबीआई-ले कोलकाता, आसनसोल लगायत लगभग सात ठाउँमा छापामार अभियान चलाएको बताइएको छ। आज बिहान सीबीआई-ले सबैभन्दा पहिला आसनसोलको आफ्टर रोड गार्डन अनि जेलिडांगामा राज्यका कानून मन्त्रीको दुई वटा घरमा छानबिन गऱ्यो। यसपछि जाँच एजेन्सीले तिनको पुर्खेली घरमा पनि छापामारी अभियान चलायो। यस अवधि मन्त्री मलय घटकको परिवारका सदस्यहरूको मोबाइल फोन समेत नियन्त्रणमा लिएको बताइएको छ। यसभन्दा अगावै ईडी-ले कोइला घोटालाको सम्बन्धमा राज्यका कानून मन्त्री मलय घटकलाई सोधखोजको लागि दिल्ली बोलाए तापनि तिनी हाजिर नभएपछि नै आज सीबीआई-ले तिनको घर तथा कार्यालयमा समेत छापामार अभियान चलाएको कुरा जान्नमा आएको छ। स्मरण रहोस, अनुब्रत मण्डललाई आज 14 दिनको जेल हिरासत पछि फेरि अदालतमा पेश गरियो। अर्कोतिर, ईडी-ले कोइला घोटालामा तृणमूल कङ्ग्रेसका अखिल भारतीय महासचिव तथा मुख्यमन्त्रीका भतिज अभिषेक ब्यानर्जीसित पनि केही दिन अघि सोधखोज गरिसकेको छ। यता, केन्द्रीय जाँच एजेन्सीले आसनसोलको तृणमूल नेता तथा राज्यका कानून मन्त्री मलय घटकको घरमा पनि आज बिहान छापामार अभियान चलाए पछि राज्यको तृणमूल कङ्ग्रेस खेमामा निक्कै ठूलो हो-हल्ला मच्चिएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *