राज्यमा आंशिक लकडाउन, स-साना होटल व्यवसायीहरू समस्यामा

राजगञ्ज : कोरोना भाइरसको दोस्रो लहरले हाल देशभरिमा झैँ यता राज्यमा पनि धेरैजना मानिसहरू संक्रमित भइरहेका छन्। यसैले राज्य सरकारले यसको रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा आंशिक लकडाउनको घोषणा गरेपछि होटलहरू पनि बन्द रहेको छ। तथापि, आंशिक लकडाउनमा होम डेलिभरी सेवा खुल्लै रहे तापनि स-साना होटल व्यवसायीहरू चिन्तित बन्न पुगेका छन्। अन्य ठाउँहरूमा झैँ यता राजगञ्ज ब्लकमा पनि केही मानिसहरू होटल व्यवसायमा निर्भर छन् भने यसबाट आएको आयले व्यवसायीहरूले आफ्नो परिवार धान्ने गर्दछन्। तर आंशिक लकडाउनमा दोकानहरू खोल्ने समय बिहान 7 बजीदेखि 10 बजीसम्म अनि साँझ 5 बजीदेखि 7 बजीसम्म रहे तापनि होटल तथा रेस्टुराँहरू पूर्ण रूपमा बन्द राख्ने निर्देश दिएको छ। यस्तो परिस्थितिमा स-साना होटलहरूले होम डेलिभरी गर्न सम्भव नरहेकोले गर्दा आफू लगायत परिवारको भरण-पोषण कसरी गर्ने भन्ने विषयलाई लिएर राजगञ्जको स-साना होटल व्यवसायीहरू चिन्तित बन्न पुगेका छन्। राजगञ्जका एकजना होटल मालिक विश्वजीत रायले बताएअनुसार गत वर्ष पनि लकडाउनले गर्दा होटल धेरै महिनासम्म बन्द राख्न परेको थियो। तर यस वर्ष ऋणमा केही रुपियाँ लिएर होटल खोले तापनि आंशिक लकडाउनले गर्दा फेरि होटल बन्द राख्न परेकोले निक्कै समस्या भइरहेको छ। उक्त होटल चलाएर नै आफू लगायत परिवार धान्ने गरेको तिनले बताए। राजगञ्ज ब्लकको धेरैवटा होटल मालिकहरूको पनि यस्तै समस्या रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *