राज्यपालद्वारा उत्तर बंगालको बाढ़ प्रभावित इलाकाको निरीक्षण

सिलगढी (निसं): सिक्किममा भएको प्राकृतिक आपदाले गर्दा यता, उत्तर बंगालमा पनि टिस्टा नदीको जलस्तर बढेर केही इलाका प्रभावित बन्न पुगेको छ। टिस्टा नदीको जलस्तर निक्कै बढेपछि विषेश गरेर नदी किनार इलाकामा रहेको मानिसहरूको घर लगायत अन्य सर-सामानहरू नदीले बगाएर लगेपछि धेरै संख्यामा मानिसहरू घरविहिन बनेका छन्। यसैले आज राज्यपाल सीबी आनन्द बोसले बाढ़ प्रभावित उत्तर बंगालको केही इलाकाहरूमा पुगेर प्रत्यक्ष निरीक्षण गरे। आज बिहान दिल्लीबाट राज्यपाल विमानमार्फत बाघडुग्रा विमानअड्डा आइपुगेपछि त्यहाँबाट सोझै वाहनमा सवार भएर बाढ़ प्रभावित केही इलाकाहरूको भ्रमणमा पुगे। टिस्टा नदीले क्षय क्षति पुऱ्याएको केही प्रभावित इलाकाहरूको निरीक्षण गरेपछि अन्तमा राज्यपाल रंगधामालीमा पनि पुगेका थिए। त्यहाँ पनि तिनले टिस्टा नदीको छेउ-छाउका इलाकाहरूमा पुगेर निरीक्षण गरे। यसपछि तिनी बाढ़ पिडित परिवारहरूको लागि बनाइएको अस्थायी राहत शिविरमा पुगे अनि ती पिडितहरूसित कुराकानी गरे। यसपछि तिनले प्रत्येक पिडित परिवारलाई 1000 रुपियाँ दिने घोषणा गरे। यस अवधि त्यहाँका मानिसहरूले राज्यपाल समक्ष 100 दिनको बकाया रूपियाँको माग गरे। अर्कोतिर, राज्यपालले यस विषयमा चाँडै सरकारसित कुराकानी गर्ने तिनीहरूलाई आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *