राज्य सरकारले गोर्खाहरूको स्वाभिमानलाई ठेस पुर्‍याइरहेको छ: सांसद राजु विष्ट

सिलगढी : गोर्खाहरूको आत्मसम्मानलाई राज्य सरकारले आघात पुर्‍याइरहेको छ। राज्यपाल जगदीप धनखडसित बाघडुग्रा विमानअड्डामा भेट्न आएका दार्जिलिङका सांसद राजु विष्टले आज पत्रकारहरूसित कुराकानी गर्दै यस प्रकारको मन्तव्य पोखेका हुन्। राज्य सरकारले जीटीए चुनाउको मिति घोषणा गरेपछि गोजमुमो अध्यक्ष बिमल गुरूङ आमरण अनशनमा बसेका छन्। यस विषयमा सांसद विष्टले भने, जीटीए चुनाउको घोषणा गरेर पहाडको जनताको विरोधमा रहेको तृणमूल सरकारले एकपल्ट फेरि स्पष्ट पारेको छ। धेरै वर्ष अघिदेखि दार्जिलिङमा पञ्चायत चुनाउ भएको छैन। राज्य सरकारले पञ्चायत चुनाउ नगरेर जीटीए चुनाउ घोषणा गर्नु संवैधानिक चुनाउबिनै असंवैधानिक चुनाउ गर्नु हो। जीटीए चुनाउको घोषणा गरेर राज्य सरकारलाई दार्जिलिङ, तराई, डुवर्स र गोर्खाहरूको पर्वाह नरहेको स्पष्ट पारेको छ। जीटीए चुनाउको घोषणा गरेर राज्य सरकारले एकपल्ट फेरि गोर्खाहरूको स्वाभिमानलाई ठेस पुर्याइरहेको छ। सांसद राजु विष्ट लगायत भाजपाका विधायकहरू हवाई अड्डबाट सोझै जीटीएको विरोधमा आमरण अनशनमा बसेका बिमल गुरुङसित भेट गर्न दार्जिलिङ अनशनस्थलमा पुगे। यस अवसरमा सांसद विष्टले बिमल गुरुङलाई अनशन तोड्ने साथै राज्य सरकारविरुद्ध आन्दोलनमा सामेल हुने आहवान पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *