रंगबुल धोतरिया रंगमुक समष्टिमा अनित थापाले गरे विभिन्न परियोजनाहरूको शिलान्यास

सोनादा (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज रंगबुल धोतरिया रंगमुक समष्टिमा विभिन्न परियोजनाहरूको शिलान्यास गरे। उक्त समष्टि अन्तर्गत पर्ने मिलिङ चियाबारीको सार्वजनिक भवनमा सम्पन्न शिलान्यास कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित जीटीएको प्रमुख कार्यपाल अनित थापाले 1606.67 लाखको लागतमा 5.166 किलो मिटर रोड मरमतिसितै मिलिङको बीच गाउँदेखि चन्द्रमानधुरालाई जोड्ने स्टिल ब्रिजको निर्माणको लागि पनि शिलान्यास गरेका छन्। यसको साथै तिनले रंगबुल धोतरिया रंगमुक समष्टिको लागि दशवटा विभिन्न परियोजनाहरूको पनि शिलान्यास गरे।


उक्त शिलान्यास गरिएको परियोजनाहरूमा विभिन्न स्थानहरूमा सार्वजनिक भवन निर्माण, समाज घर निर्माण र विभिन्न स्थानहरूको रोड मरमति सामेल छ। सिद्धार्थ मोक्तानले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि अनित थापा लगायत जीटीएको मुख्य सचिव आईएएस सौम्य पुरकैत, सभासद प्रमोस्कर ब्लोन, क्षेत्रीय सभासद एवम् जीटीएको डेपुटी चेयरम्यान राजेश चौहान आदिले आ-आफ्नो वक्तव्य राखे। कार्यक्रममा सभासदहरू सतीश पोख्रेल, अनोश थापा लगायत विभागीय अधिकारीहरू उपस्थित थिए।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *