रास मेलामा ड्युटी गरेर फर्किरहेको समय पुलिस बस दुर्घटनाग्रस्त, धेरैजना घाइते

कुचबिहार (निसं): रास मेलामा ड्युटी सकेपछि घर फर्किरहेको समय कुचबिहारको घोक्साडाङ्गा इलाकामा पुलिस बस दुर्घटनाग्रस्त हुँदा धेरैजना पुलिसकर्मी घाइते भएका छन्। घाइतेहरूमध्ये 3 जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार कुचबिहारको रास मेलामा ड्युटी गरेपछि पुलिसको एउटा बस हिजो राति कालेबुङ फर्किरहेको समय घोक्साडाङ्गा आमबारी इलाकामा बस अनियन्त्रित भएर सडकमा रोकेर राखेको एउटा पिकअप भ्यानलाई पछिल्तिरबाट धक्का दिएपछि बस सडक किनारको जलाशयमा पस्दा धेरैजना पुलिसकर्मी घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगिएको  छ भने तीमध्ये 3 जना पुलिस कर्मीको गम्भीर अवस्थामा अस्पतालमा उपचार चलिरहेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *