गान्तोक : चुनाउ जितेपछि पहिलो पल्ट आज अपरान्ह राष्ट्रपति द्रोपदी मुर्मू दुईदिने भ्रमणमा सिक्किम आइपुगिन्। गान्तोक नजिक लिविङ हेलिप्याडमा राष्ट्रपतिलाई भव्य स्वागत जनाउँदै तिनलाई गार्ड अफ अनर दिइयो। यसपछि सेनाको लिविङ हेलिप्याडबाट राष्ट्रपति सोझै गान्तोकस्थित राजभवन गइन्। यस अवसरमा राष्ट्रपतिलाई हार्दिक स्वागत जनाउन राज्य सरकार, सिक्किम राज्यका विभिन्न संघ-संस्थाहरू जुटेको देखियो। राष्ट्रपतिको आगमन समय स्वागत जनाउन तथा राष्ट्रपतिको दर्शन गर्न गान्तोकको सड़कका किनारहरूमा मानिसको घुइँचो लाग्यो। गान्तोकस्थित हस्पिटल डाँड़ामा राष्ट्रपतिको सिक्किम आगमन समय स्वागतार्थ आयोजित सांस्कृतिक झाँकी तथा लाखे नृत्य पनि प्रस्तुत गरियो।

यसपछि तिनी राजभवन प्रस्थान गरे भने त्यहाँ केही समय विश्राम गरेपछि राष्ट्रपतिले गान्तोकको मनन केन्द्रमा हुने कार्यक्रममा सहभागी हुनेछिन्। उक्त कार्यक्रमबाट नै राष्ट्रपति द्रोपदी मुर्मूले सिक्किममा नव निर्मित सडक लगायत टनल आदिको पनि उद्घाटन गर्नेछिन्। यसपछि आज राजभवनमा नै एक रात बिताएपछि भोलि शनिवार बिहान दक्षिण सिक्किम नाम्चीस्थित चारधाम परिदर्शन गर्नको साथै त्यहाँको एउटा नव निर्मित ट्राइबल होस्टेलको पनि उद्घाटन गर्नेछिन अनि भोलि अपरान्ह नै राष्ट्रपति दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
