राष्ट्रिय स्तरीय कराँते खेलमा सहभागी जनाउने राईजिङ सन स्पोर्टिङ क्लबका 5 जना नानीहरू सम्मानित

खरसाङ: खरसाङको गिद्धे पहाड़स्थित राईजिङ सन स्पोर्टिङ क्लबका पाँचजना नानीहरू कोलकोताको हावड़ास्थित इन्डोर स्टेडियममा सम्पन्न राष्ट्रिय स्तरीय कराँते खेलमा सहभागी भएर फर्केका छन्। यस क्लबको पाँचजना नानीहरू आफ्नो गुरु सेन्सी अमीत छेत्रीको अगुवाईमा कोलकोता गएर कराँते खेली पुरस्कार पनि जित्न सफल भएका छन्। कोलकोताको हावड़ामा भएको खेलमा राईजिङ सन स्पोर्टिङ क्लब गिद्धे पहाड़को पाँचजना नानीहरूले गत 17 र 18 दिसम्बरको दिन कराँते खेलमा भाग लिएर हिजो राति घर फर्कि आएका छन्। उक्त पाँचजना नानीहरूमा साजन राईले गोल्ड, हिमांशु खातीले रजत, रौनक सुनवारले काँस्य, रिमछोर लेप्चाले दुईवटा काँस्य जितेका छन् भने शुभ थामीले खेलमा सहभागिता जनाएका थिए। यस खेलमा भारतको 25 वटा राज्यहरूका खेलाड़ीहरूले सहभागिता जनाएका थिए। यसरी राष्ट्रिय स्तरको कराँते खेलमा भाग लिएर पदक जितेर आएका पाँचजना नानीहरूलाई आज गिद्धे पहाड़स्थित क्लबमा अभिभावकहरूको उपस्थितिमा सम्मान जनाइयो। यस क्लबका नानीहरूले योभन्दा पहिला पनि आफ्नो सेन्सी अमीत छेत्रीको अगुवाई र दिशा निर्देशनमा भारतको विभिन्न राज्यहरूमा कराँते खेलमा सहभागिता जनाउँदै आएका छन्। यसरी आफुले सिकाएको नानीहरूले राष्ट्रिय स्तरको कराँते खेलमा पुरस्कारहरू जितेर आएकोमा सेन्सी अमित छेत्रीले खुशी व्यक्त गरेका छन्। तिनले आज खरसाङमा पत्रकारहरूलाई सम्बोधन गर्दै आफीले विगत 2011 देखि यो क्लब स्थापना गरेर लगातार रूपमा नानीहरूलाई कराँते सिकाइरहेको र यहाँ मोठ 51 जना नानीहरूले कराँते सिकिरहेको बताए। सेन्सी अमित छेत्रीले यसको अतिरिक्त खरसाङको एउटा स्कुलमा 57 जना र घैयाबारीको एउटा स्कुलमा पनि 138 जनालाई कराँते सिकाइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *