राष्ट्रिय राजमार्ग 10-लाई सुरक्षित तथा चौडादार बनाउनुपर्ने सांसद विष्टले गरे माग

सिलगढी : छिमेकी राज्य सिक्किम लगायत कालेबुङ, दार्जिलिङ तथा डुवर्स क्षेत्र जाने एकमात्र जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग 10-मा एकपछि अर्को गर्दै लगातार भइरहेको सडक दुर्घटनाहरूलाई लिएर दार्जिलिङका सांसद राजु विष्टले दुख प्रकट गर्दै यस सडकलाई चौड़ादार साथै मरमति गरिनुपर्ने माग गरेका छन्। हालै राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 29 माइल नजिक भएको वाहन दुर्घटनामा 5 जनाको मृत्यु भएको कुराको प्रसङ्ग उठान गर्दै उक्त सडकको उचित व्यवस्था तथा अझ चौडादार बनाउनुपर्ने सम्बन्धित विभागीय मन्त्री नितीन गडकरीलाई सांसद विष्टले माग गरेका छन्। उक्त सिक्किमलाई जोड्ने राष्ट्रिय राजमार्ग सर्वप्रथम लगभग 100 वर्ष अगाडी नै टिस्टा नदीको किनारमा बनिएको हो भने हाल सडकको अवस्था साँघुरो रहेको साथै धेरै ठाउँहरूमा सुरक्षाको लागि कल्भर्ट तथा सेफ्टी ब्यारिकेटको व्यवस्था नरहेकोले गर्दा नै प्रायःजसो वाहनहरू दुर्घटना हुने गरेको तिनले बताएका छन्। यसको साथै टिस्टा नदीमा विभिन्न ठाउँहरूमा हाइड्रो प्रोजेक्ट निर्माण गरिएकोले गर्दा यसको छेउछाउको एरियाहरूमा वर्खाको समयमा सडक माथिबाट धस्किने हुनाले सिक्किम तथा कालेबुङको अन्य ठाउँहरूसित सम्पर्क विछिन्न बन्ने गरेको बारेमा पनि नितीन गडकरीलाई दार्जिलिङका सांसद राजु विष्टले अवगत गराउँदै यसको चाँडै मरमति तथा चौडादार गरिनुपर्ने आवश्यकता रहेको जानकारी गराएका छन्। सांसद विष्टले बताएअनुसार राष्ट्रिय राजमार्ग 10-मा हुने वाहन दुर्घटनाहरूलाई रोक्नको लागि बाह्रै महिना सडक अवरोध नहुने, टिस्टा नदीको किनारमा सेफ्टी ब्यारिकेट लगाइनुपर्ने तथा विभिन्न ठाउँहरूमा कल्भर्टको उचित व्यवस्था गरिनुपर्ने अनि राष्ट्रिय राजमार्ग 10-मा एउटा रेस्क्यु टीम अनि मेडिकल स्टाफ सधैँ तैनाथ गरिनुपर्ने सम्बन्धित विभागीय मन्त्री गडकरीलाई माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *