रिम्बिक-लोधोमाको काङ्केबुङ वाहन दुर्घटनामा आमा-छोराको मृत्यु, चालक गम्भीर रूपमा घाइते

रिम्बिक: रिम्बिक-लोधोमा समष्टिको काङ्केबुङमा वाहन दुर्घटना हुँदा आमा-छोराको घटना स्थलमैं मर्मान्तिक मृत्यु भएको छ। लोधोमा थाना सूत्रले दिएको जानकारी अनुसार बालुवा बोकेर काङ्केबुङ तर्फबाट आइरहेको पिकअप वाहन दुर्घटना हुँदा 31 वर्षीय कविता लकान्द्री र तिनका 9 वर्षीय छोरो रिकेश विश्वकर्माको घटनास्थलमैं मृत्यु भएको हो। यसैगरी, वाहन चालक मुन्ना गुप्ता दुर्घटनामा गम्भीर घाइते भएकोले तिनलाई उपचारको लागि दार्जिलिङ पठाइएको छ। स्थानीय मानिसहरूको भनाइअनुसार सडकको दुरवस्थाको कारणले दुर्घटना भएको हो। सडकमा ठूल्ठूला खाल्डोको कारण बालुवा बोकेको उक्त पिकअप वाहन उकालो चढ्न नसकेपछि पछिल्तिर गएर मूल सडकबाट सोझै तल झरेको बताइएको छ। स्मरण रहोस, काङ्केबुङ जाने यो मूल सडकको अवस्था हाल बेहाल बनेको छ। केही महिना अघि मात्र निर्माण कार्य पूरा भएको यस सडकमा हाल अलकत्रा उप्किएर ठाउँ-ठाउँमा खाड़ल बनेकोले वाहनहरूलाई निक्कै असुविधा भइरहेको छ। स्थानीय मानिसहरूले सडकको दुरवस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको गाउँलेहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *