रोहिणीको सेन्ट जोन्स बोर्डिङ स्कूलमा विविध कार्यक्रम सम्पन्न

खरसाङ : खरसाङ खण्ड अन्तर्गत रोहिणीको सेन्ट जोन्स बोर्डिङ स्कूलमा एउटा गैर सरकारी संस्था क्राइद्वारा बदामटी, टीच मी अनि बाइजूसको संयुक्त सहयोग र सहभागितामा आज विविध कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा स्थानीय सेन्ट जोन्स बोर्डिङ स्कूलका विद्यार्थीहरूलाई लिएर हाजिरी जवाब प्रतियोगिता कार्यक्रम साथै विद्यार्थीहरूलाई बाईजुसको तर्फबाट स्कूल ब्याग अनि आवश्यक सामाग्रीहरू वितरण गरियो। यस अवसरमा मुख्य अतिथिका रूपमा खरसाङ सह खण्ड अधिकारी श्यामल कान्ती सिकारी थिए भने अन्य अतिथिहरूमा रोहिणी ग्रमीण को-ओपरेटिभ सोसाइटीका अध्यक्ष सुदीप गुरूङ, सेन्ट जोन्स बोर्डिङ स्कूलका प्रिन्सिपल मिलन रसाइली लगायत अन्यहरू उपस्थित थिए। समारोहमा स्वागत सम्बोधन संस्थाका सदस्य पवन राईले राखे।


यस अवसरमा पूजा खातीको सञ्चालनमा सेन्ट जोन्स स्कूलका विद्यार्थीहरूलाई लिएर हाजिरी जवाब कार्यक्रम पनि राखिएको थियो। आफ्नो सम्बोधनमा मुख्य अतिथि श्यामल कान्ती सिकारीले आफ्नो जीवनको अनुभवलाई बताउँदै जीवनमा संघर्ष गरे अवश्य सफलता प्राप्त हुने बताए। तिनले क्राइ अनि अन्य सहयोगी गैर सरकारी संस्थाहरूले गरिरहेको कार्यको प्रसंशा गर्दै भविष्यमा अझ यसभन्दा अझ धेर सामाजिक सेवाका कार्यहरू गर्ने आग्रह गरे। त्यसबाहेक कार्यक्रममा मिलन रसाईली अनि सुदीप गुरूङले पनि आजको कार्यक्रमको प्रशंसा गर्दै आयोजक समितिप्रति कृतज्ञता प्रकट गरे। कार्यक्रमबारे अवगत गराउँदै संस्थाका सदस्यहरू पवन राई अनि पूजा खातीले यसप्रकारको कार्यक्रम गरेर संस्थाले विद्यार्थीमुखी कार्यक्रम गरेर उनीहरूलाई शैक्षिक क्षेत्रमा थप प्रोत्साहित गर्नु रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *