रोमाञ्चक ट्राईब्रेकरमा मधुर मिलन संघलाई पराजित गरेर युकेएफसी अघिल्लो चरणमा

सिलगढी : मधुर मिलन संघ मिलन मोड सिलगढीको आयोजना सम्पन्न भइरहेको आठौँ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज युकेएफसी खरसाङ बनाम मधुर मिलन संघ सिलगढीमाझ खेल सम्पन्न भयो। निर्धारित समयसम्म दुवै टोलीको स्कोर दुई-दुई गोल भएपछि खेलको निर्णय गर्नको लागि खेलाइएको रोमाञ्चक ट्राई ब्रेकरमा मधुर मिलन संघलाई पराजित गरेर युकेएफसी खरसाङ विजयी बन्यो। खेलको शुरूआतदेखि नै दुवै दलका खेलाडीहरूले अति रोमाञ्चक खेलको प्रदर्शन गर्यो भने युकेएफसीको तर्फबाट रूस्तम प्रधानले खेलको 8औँ मिनटमा पहिलो गोल गरेर आफ्नो टोलीलाई बढत दिलाए। यसपछि फेरि 16औँ मिनटमा कमल खवासले गोल गरेर टोलीलाई 2-0 गोलले बढत दिलाए। खेलको पूर्वार्द्धमा 2 गोलले पछाडिएको मधुर मिलन संघका खेलाडीहरूले द्वितीयार्द्धको खेलमा आफ्नो रणनीति परिवर्तन गरेर खेलको 61औँ मिनटमा सन्दीप साइबोले अनि 77औँ मिनटमा साहिल प्रधानले गोल गरेर खेल बराबरीमा पुर्‍याए। यसपछि खेलको निर्धारित समयसम्म कुनै गोल हुन नसकेपछि अन्तमा 2-2 गोलको बराबरीमा म्याच सकियो। यसपछि खेलको निर्णय निकाल्नको लागि खेलाइएको ट्राइब्रेकरमा मधुर मिलन सिलगढीलाई पराजित गरेर युकेएफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। आजको खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने युकेएफसीका खेलाडी राज रावतलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। खेल आयोजक सूत्रले दिएको जानकारी अनुसार भोलि शुक्रबारको खेल नर्थ बेङ्गल आर्म्ड पुलिस बनाम डीएस डुवर्समाझ भीडन्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *