शब्द समय सालबारीको 121औँ प्रकरण सम्पन्न

खरसाङ (निसं): शब्द समय सालबारीको 121औँ प्रकरण सालबारीको स्थानीय सयपत्री भवनमा सम्पन्न भयो। प्रकरणको प्रथममा गत केही दिन अघि सिलगढीको मतिगढामा नाबालिका विद्यार्थीको नृशंस हत्याको निन्दा गर्दै दिवङ्गत विद्यार्थीको आत्मशान्तिको प्रार्थना गर्दै दुई मिनटको मौन धारण गरेर श्रद्धाञ्जलि अर्पण गरियो। यस प्रकरणमा वरिष्ठ साहित्यकार कवि-कथाकार भविलाल लामिछानेले आफ्नो सम्बोधनमा मतिगढाको घटनाबारे चिन्ता व्यक्त गर्दै अभिभावकहरूले आफ्ना नानीहरूलाई लिएर सचेत बन्नुपर्ने र नानीहरूलाई सतर्क गराउन आवश्यक रहेको बताए। तिनले शब्द समयका अभिभावक व्यक्तित्व साहित्यकार नरबहादुर दाहालको स्वास्थ्यबारे चिन्ता प्रकट गर्दै तिनको शीघ्र सुस्वास्थ्यको कामना गरे। तिनले आफ्नो रचना पठन गर्ने क्रममा तीनवटा गजलहरू वाचन गरे। वरिष्ठ कवि मोहन ठकुरीले शब्द समयका प्रारम्भिक प्रकरणहरू आयोजनाहरूको स्मरण गरे। यस अवसरमा तिनले कथा वाचन गरेर सुनाए। खरसाङबाट कार्यक्रममा सहभागी बन्न आएका प्रसिद्ध समाजसेवी तिलक शर्माले पनि कार्यक्रमलाई सम्बोधन गर्नको साथै शब्द समयलाई अर्थ सहयोग पनि गरे। उम्दा कवि कविता अधिकारीले यस्तो पाठ पढाउन सकिन्न?’ शीर्षकमा कविता पठन गरेर सुनाइन्। यसपल्ट रम्भास कवि लीलबहादुर सुनारले युग्मकहरू वाचन गरे। कवि-कथाकार-चित्रकार सुवास छेत्रीले भानुमाथि प्रतिकात्मक कविता प्रस्तुत गरे। रचना पाठ गर्ने अन्य सर्जकहरूमा कवि निर्मल सिन्चुरी, कवि हेमन्त काफ्ले, कवि पूर्ण मंगर, अ.प्रा. कप्तान महेश कुमार सुब्बा, वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडा अनि युग्मककार कालूसिंह रनपहेंली थिए। आफ्ना कुराहरू राख्ने क्रममा वरिष्ठ-कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवडाले भानु जयन्तीमा सिलगढीले पनि सरकारी छुट्टी पाउनुपर्छ भन्ने पहलमा उठाइएका कदमहरू र गरेका कार्यहरूको संस्मरण गरे। यस समय पैदल यात्राको क्रममा समाजसेवी तिलक शर्माले खरसाङमा गरेका सहयोग र योगदानको उल्लेख पनि उनी गरिरहेका थिए। कवि खतिवडाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन पनि गरे। तिनले विशेष धन्यवाद कवि हेमन्त काँफ्लेलाई दिए जसले शब्द समयको निम्ति आफ्नो खर्चमा सुन्दर ब्यानर तयार पारेर यसै प्रकरणमा प्रदान गरेका थिए। यस प्रकरणलाई शब्द समयका नयाँ संयोजक कालूसिंह रनपहेंलीले सञ्चालन गरेका थिए। तिनले पूर्व संयोजक वरिष्ठ साहित्यकार खडकराज गिरीको कुशल कार्य सम्पादनको निम्ति हार्दिक आभार व्यक्त गरे अनि आफ्नो कार्यकालका निम्ति सबै सदस्यहरूको सहयोय र सक्रियताको निवेदन गरे। तिनले भने, शब्द समयको निक्कै अघिको पत्रिका निकाल्ने पहल अधुरो रहेकोले यसलाई शीघ्र कार्यान्वयन गर्न सकिने कुरामा आशा व्यक्त गरे। यसै अवसरमा कथाकार-अनुवादक जीतबहादुर सुनारलाई शब्द समयका कोषाध्यक्षको रूपमा कार्यभार सुम्पने संयोजकको प्रस्तावलाई शब्द समयका सशक्त स्तम्भ कवि ज्ञानेन्द्र खतिवडाले समर्थन गरेपछि वरिष्ठ कवि मोहन ठकुरीले तिनलाई खदा लगाइदिएर स्वागत जनाउँदै बधाई टक्राए। यस प्रकरणमा प्रसिद्ध चलचित्र अभिनेता टङ्क शर्मा पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *