शब्द समय सालबारीको 123 औँ प्रकरण सम्पन्न

खरसाङ (निसं) : शब्द समय सालबारीको 123 औं प्रकरण सालबारीको गोम्देन टी बारमा सम्पन्न भयो। यस प्रकरणमा शब्द समयमा प्रथमपल्ट सहभागी बन्न आएका साहित्यकारहरूमा क्रमैले भारत नेपालको निम्ति साँघुको रूपमा कार्य गर्दै आइरहेका झापा नेपालका वरिष्ठ कवि-समालोचक स्रष्टा-द्रष्टा दिपक सुवेदीलाई स्वागत जनाइयो भने काठमाडौंबाट आइपुगेका साहित्यकार चित्र सिकारू अनि इलाम नेपालका सर्जक दिपेन्द्र आचार्य सुमीलाई पनि स्वागत जनाइयो। वरिष्ठ सर्जक-पत्रकार शैलेन्द्र समदर्शीले सञ्चालन गरेका शब्द समयका अभिभावक व्यक्तित्व साहित्यकार नरबहादुर दाहाललाई स्मरणमा राख्दै आरम्भ गरियो। यस प्रकरणको प्रथममा वरिष्ठ कवि-कथाकार भविलाल लामिछानेले हालै टिस्टाले गरेका ताण्डवलाई समेटेर लेखिएको आफ्नो कविता वाचन गरे। त्यसपछि वरिष्ठ कवि-कथाकार मोहन ठकुरीले दुई छोटा कविताहरू वाचन गरेका थिए। त्यसरी नै वरिष्ठ कवि-समालोचक दिपक सुवेदीले रोचक कविता अन्तिम हरफ पठन गरे। नारी सर्जक मोनिका प्रधानले यस अवसरमा आफ्नो कविता कल्पना वाचन गरिन्।काठमाडौंबाट आएका साहित्यकार चित्र सिकारूले एउटा गीतसितै स्वरचित कविता पठन गरेका थिए। कवि दिपेन्द्र आचार्य सुमीले अनुहार शीर्षकको कविता पठन गरे। हालै वरिष्ठ कथाकार-उपन्यासकार राजेन मोक्तानको कथा सङ्ग्रह जार लोकार्पण कार्यक्रमबाट प्रेरित भएर कथाकार-अनुवादक जीतबहादुर सुनारले लेखेका एक संस्मरण जार शीर्षकमा सुनाए। वरिष्ठ कवि कृष्ण प्रधान अर्पणले पठन गरेका कविता थियो- परिचय साइनोको। वरिष्ठ कवि निर्मल सिन्चुरीले वर्तमान वैश्विक परिवेशमाथि आधार गरेर लेखिएको कविता सुनाए भने मङ्पुबाट आएका कवि दुष्यन्त रामुदामुले पनि कविता वाचन गरे। यसै क्रममा युग्मककार कालूसिंह रनपहेंलीले पनि वर्तमान वैश्विाक अवस्थामाथि नै आधार गरेर लेखिएको त्यसपछि शीर्षकको कविता सुनाए। शब्द समयका सक्रीय सदस्य सर्जक पूर्ण मंगरले आफ्नो स्वरचित कविता वाचन गरे। शब्द समयका बलिया स्तम्भ कवि-चिन्तक-अध्येता ज्ञानेन्द्र खतिवड़ाले यस अवसरमा शब्द समयको आजसम्मका आयोजनाहरूबारे बताए। उनले आफ्नो स्वरचित कविता सार्दासार्दै शीर्षकमा सुनाए। सञ्चालक शैलेन्द्र समदर्शीले शब्द समयबारे थप कुराहरू राखेपछि हालै दिवङ्ग्त बनेका सर्जक ललित चाहार अनि शब्द समय परिवारका सदस्यहरू युग्मककार कालूसिंह रनपेंलीका भाइ कुमार रनपहेंली अनि सर्जक अ.प्रा. कप्तान महेश कुमार सुब्बाकी बहिनीको निधनमा गहिरो शोक प्रकट गर्दै दिवङ्ग्त आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनटको मौन धारण गरियो। यसपछि सञ्चालक शैलेन्द्र समदर्शीद्वारा धन्यवाद ज्ञापन गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *