सडक दुर्घटनामा पुलिस अधिकारीको मृत्यु

राजगञ्ज (निसं) : सडक दुर्घटनामा एकजना पुलिस अधिकारीको मृत्यु भएको छ। मृतकको नाम करुणाकान्त राय बताइएको छ। आज बिहान लगभग साढे 6 बजी जलपाईगढीको हाकिमपाडामा तिनको बाइक सडक डिभाइडरसित ठोक्किँदा तिनी गम्भीर रूपमा घाइते भएका थिए। गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर अस्पतालमा लगेपछि त्यहाँका चिकित्सकहरूले मृत घोषित गरिदिए। करुणाकान्त राय जलपाईगढीमा मनिटरिङ सेलमा सब-इन्स्पेक्टरको पदमा कार्यरत थिए। तिनी राजगञ्जका तोताइगछ गाउँ निवासी थिए भने तिनी आफ्ना परिवारसित जलपाईगढीमा बस्दै आइरहेका थिए। परिवारमा स्वास्नी र 2 जना छोरी छन्। गणतन्त्र दिवस नजिकै रहेकोले तिनी परेडको रिहर्सल गर्नको लागि बिहान बाइकमा सवार भएर सदर पुलिस विभागमा गइरहेका थिए। त्यहीँ समय घना कुइरोले गर्दा उक्त दुर्घटना घटेको बताइएको छ। करुणाकान्त राय 25 वर्षदेखि पुलिसमा कार्यरत थिए। करुणाकान्त रायको असामयिक मृत्युले पुलिस जगतमा शोकको माहौल छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *