सड़कको निर्माण कार्यले गाउँलेहरूमा खुशीको माहौल

खरसाङ : खरसाङको तीनधारे महानदी समष्टी अन्तर्गत सिविटार क्षेत्रमा बाटोको समस्या समाधान हुँदै गईरहेको छ। महानदीदेखि गैरी गाउँ हुँदै सिविटार तितिरी खेल मैदानसम्म पुग्ने सड़कको निर्माण कार्य हाल धमाधम चलिरहेको छ। यस सड़कले सिविटार चियाबारीको धेरैवटा गाउँहरूलाई जोड़ने भएकोले स्थानीय मानिसहरूलाई धेरै सुविधा पुग्ने बताइएको छ। उक्त 3 किलोमीटरसम्मको सड़क आईडीआरएफ विभाग मार्फत लगभग 4 करोड़ रूपियाँको लागतमा निर्माण भइरहेको स्थानीयवासी एंव गोजमुमो तीनधारे महानदी समष्टिका सांगठनिक सचिव उत्तम छेत्रीले पत्रकारहरूलाई जानकारी दिएका छन्। तिनले यो सड़क निर्माण कार्य पूरा भएपछि स्थानीयहरूलाई धेरै सुविधा पुग्ने तथा धेरैवटा गाउँहरूलाई जोड़ने काम गरिरहेको बताए। सिविटारका जनताले लामो समयदेखि झेल्दै आएको सड़कको समस्या समाधान भएकोमा सम्पूर्ण सिविटारका जनता औधी खुसी भएकोले जनताको पक्षमा जीटीए चेयरम्यान अनित थापालाई तिनले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *