सड़क मरमति गरिदिने मागमा गाउँलेहरूद्वारा पथ अवरोध

राजगञ्ज: राजगञ्ज पोस्ट अफिस मोड़देखि भोलापाड़ासम्मको सड़कको अवस्था निक्कै खराब भएकोले आज स्थानीय मानिसहरूले उक्त सड़कको मरमति गरिनुपर्ने मागमा पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। बेहाल अवस्थामा रहेको उक्त 10 किमी सड़कको मरमति गरिनुपर्ने मागमा आज स्थानीय मानिसहरूले सन्न्यासीपाड़ामा पथ अवरोध गरे। स्थानीय मानिसहरूको आरोपअनुसार प्रशासनको तर्फबाट केही वर्ष अघिदेखि उक्त सडकको मरमति गरिदिने आश्वासन दिए तापनि हालसम्म सडकको मरमति भएको छैन। सड़क अवस्था बेहाल रहेकोले गाउँलेहरूलाई यातायात गर्न निक्कै असुविधा भइरहेको छ। उक्त सडकको मरमतिको लागि लगभग दुई वर्ष अघि एउटा कार्यक्रमको माध्यमद्वारा शिलान्यास गरे तापनि हालसम्म कुनै पहल गरिएको छैन। उक्त सडक भएर दिनहुँ मानिसहरू लगायत वाहनहरूको आवत-जावत हुने गर्दछ। सडकको अवस्था खराब भएकोले मानिसहरूले धेरै भाडा तिरेर यातायात गर्न परिरहेकोले गर्दा आज बाध्य भएर तिनीहरूले चाँडै उक्त सडकको मरमति गरिनुपर्ने माग गर्दै सडक अवरोध गरेर विरोध प्रदर्शन गरेको बताइएको छ। लगभग तीन घण्टासम्म पथ अवरोध गरेपछि राजगञ्ज बीडीओ एनसी शेर्पा घटनास्थलमा पुगेर सड़कको मरमति गरिदिने आश्वासन दिएपछि पथ अवरोध हटाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *