साहित्य कला संस्थान तीनधारेद्वारा 94औँ गिरी जयन्ती तथा स्व. ज्योति गुरुङ स्मृति कवि गोष्ठी

खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेको महात्मा गाँधी हलमा 94औँ गिरी जयन्ती साथै स्व. ज्योति गुरुङ स्मृति कवि गोष्ठी सम्पन्न भयो। मदनकुमार प्रधानको अध्यक्षता र प्राध्यापक डा. अमीर ठटालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्य कला संस्थानका सचिव सन्तोष लामाले स्वागत सम्भाषण राखे। कार्यक्रममा सभाध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट जातीय कवि अगमसिंह गिरीको तस्वीरमा खदार्पणसहित दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जलि अर्पण गरियो। कार्यक्रममा कवि गिरीको जीवनीमाथि हिरण रसाईलीले प्रकाश पारे भने कार्यक्रममा नानीहरूले गिरीद्वारा लिखित कविताहरू वाचन गरे। कार्यक्रमलाई दिपशिखा शर्माले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा साहित्य कला संस्थान तीनधारेको सदस्य बिजय गुरुङकी पत्नी स्व. ज्योति गुरुङको स्मृतिमा कवि गोष्ठी सम्पन्न भयो जसमा तीनधारे क्षेत्रका कविहरू क्रमैले सुकुमार बराईली, देवेन मंगर, बरुण रसाईली, अनिल ब्राह्माण, मञ्जु शर्मा, नवराज राई, सुवास बान्तवा लगायत अन्यले कविता, गीत वाचन गरे। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित साहित्यकार एवम् पत्रकार शैलेन्द्र समदर्शीले आफ्नो सम्बोधनमा कवि गोष्ठीमा सहभागी सबै नानीहरूलाई दुईवटा गरेर पुस्तकहरू प्रदान गर्ने तथा आगामी दिनमा आफ्नो दिङ्वगत पिता र दाजुको नाममा कवि गोष्ठी प्रायोजना गर्ने घोषणा गरे। कार्यक्रममा स्व. ज्योति गुरुङको तस्वीरमा खदार्पण गरेर दीप प्रज्ज्वलन गरेर श्रद्धाञ्जलि अर्पण गरियो। त्यसरी नै स्व. ज्योति गुरुङको परिवारका सदस्यहरूलाई साहित्य कला संस्थानको सभापति तथा सचिवको बाहुलीबाट खदार्पण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *