सपनामा होइन विपनामा जागेर हामीले हाम्रो भाग्य खोज्नुपर्छ: लाडुप घिसिङ

मिरिक: सपनामा होइन विपनामा जागेर हामीले हाम्रो भाग्य खोज्नुपर्छ भन्दै हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङले मन्तव्य पोखेका हुन्। भारतीय जनता पार्टी अनि केन्द्रको भाजपा सरकारको विरोधमा हाम्रो पार्टीको मिरिक एकाईले मिरिकको विभिन्न ठाउँहरूमा व्यापक पोस्टरहरू टाँसेको छ। हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङले भारतीय जनता पार्टीले पहाड, तराई, डुवर्स एवम् देशका विभिन्न क्षेत्रहरूमा बसोबासो गर्दै आइरहेका गोर्खाहरूलाई झुक्काउने काम गरेको बताए। प्रत्येक चुनावमा भाजपाले गोर्खाहरूको दीर्घकालीन समस्याहरूलाई स्थायी राजनैतिक समाधान गरिदिने, गोर्खा समुदायको 11 जात गोष्ठीहरूलाई जन जातिमा समावेश, चियाश्रमिकहरूलाई मिनिमम वेजेस दिने लिखित वाचाहरू गर्दै आए तापनि आज 15 वर्ष बितिसक्दा पनि केन्द्रको भाजपा सरकारले गोर्खाहरूसित गरेको वाचाहरू कुनै पनि पुरा नगरेको घिसिङले बताए। भारतीय जनता पार्टीले हामी गोर्खाहरूलाई 15 वर्षदेखि झुक्काउँदै आइरहेको छ तर अब हामी झुक्किनु हुँदैन भन्दै तिनले सबै पहाडवासी एवम् गोर्खाहरूलाई आहवान गरेका छन्। दार्जिलिङका सांसद राजु विष्टले पनि अब जवाफ दिने समय आएको छ। दार्जिलिङको चैरस्तामा महाकाल मन्दिरतिर फर्केर महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्ड ल्याएर आउने तिनले घोषणा गरेको थियो। सांसद विष्टको पाँच वर्षको कार्यकाल पुरा हुन अब केही दिन मात्र बाँकी रहेको छ। यसैले अब तिनले यसबारे पहाडवासी एवम् सबै गोर्खाहरूलाई जवाफ दिनुपर्छ। भारतको वर्तमान प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले पनि सिलगढीको एउटा जनसभामा गोर्खाको सपना मेरो सपना भनेका थिए तर प्रधानमन्त्री मोदीको सपना केवल सपनामा नै सीमित रहयो, विपना बन्न सकेको छैन। अब लोकसभा चुनाउको घोषणा हुन लागेको छ। अब हामी झुक्किनु हुँदैन भन्दै प्रवक्ता घिसिङले भने। तिनले पहाडको भाजपा गठबन्धन दलको नेतृत्वहरूमाथि पनि प्रश्न तेर्साउँदै तपाईहरूले 2023 को दिसम्बर महिना अघि नै गोर्खाहरूले न्याय पाउने घोषणा गर्नु भएको थियो तर खै? अन्तरिम बजेट सेशनमा काश्मिरको जन जातिहरूले न्याय पाए तर गोर्खा समुदायको 11 जात गोष्ठीको नाम समेत उच्चारण भएन। अब हुने चुनाउ अघि भारतीय जनता पार्टीले यस्तै झुटो आश्वासनहरू लिएर आउने प्रबल सम्भावनाहरू रहेको छ। यसैले अब पहाड तराई डुवर्सको जनता जाग्नुपर्छ। आउँदो लोकसभा चुनाव विकासको लागि होइन, पहाड तराई डुवर्सले आजसम्म न्याय पाएको छैन, अरूको लागि संसदीय कोष हुन सकला तर हामी गोर्खाहरूको लागि छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाले पार पाउनुपर्छ। आजसम्म न्याय नपाएका गोर्खाहरूले न्याय पाउनु पर्छ, यी सबै विषयहरूलाई कार्य रूपमा परिणत गर्न हामी सपनामा होइन विपनामा बाँच्नु पर्छ। देशको प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण गोर्खाहरूलाई सपना मात्र देखाए तर हामी गोर्खाहरू जागेर विपनामा आफ्नो भाग्य खोज्नुपर्छ भनी प्रवक्ता घिसिङले सबैसित आहवान गरे। चियाबगानहरूमा कार्यरत श्रमिकहरूको निम्ति मिनिमम वेजेस लागू गर्ने भारतीय जनता पार्टीले वाचा गरेको थियो तर कुनै वाचाहरू भाजपाले पुरा नगरेको घिसिङले बताए। भारतीय जनता पार्टीले हामी गोर्खाहरूलाई भोट ब्याङ्कको रूपमा मात्र प्रयोग गर्दै आएको रहेछ। झुटो आश्वसानको थाङ्नामा हामीलाई सुताउने कार्य गरेको थियो। यसैले अब हामी भाजपाको पछि लाग्नु हुँदैन, हाम्रो पार्टीले भाजपाको विरोधमा राम्रो विकल्पको मार्ग तयार गरेर लाँदैछ। यो विकल्प मार्गको माध्यमद्वारा गोर्खा सन्तानहरूलाई न्याय दिलाउने दिशामा हामी सबै अघि बढ्नुपर्छ भन्दै हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङले समस्त पहाडवासी समक्ष आहवान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *