शारीरिक अस्वस्थले गर्दा जनता समक्ष पुग्न नसकेको जलपाईगढीका विधायकको दावी

जलपाईगढी : कोरोना परिस्थितिमा जलपाईगढीका विधायकको भूमिकालाई लिएर विरोधी पक्षले प्रश्न तेर्साएको छ। कोरोना महामारीको समयमा पनि तिनी देखा नपरेको भन्दै सोशल मीडियामा धेरैजनाले आरोप लगाएको छ। एउटा विशेष अन्तर्वार्ताको माध्यमद्वारा जलपाईगढीका विधायक डा. प्रदीप कुमार बर्माले विपक्षीहरूको आरोपको जवाफ दिएका छन्। कोरोना संक्रमित भएपछि आफू शारीरिक समस्याले गर्दा घरबाट बाहिर निस्कन नसकेको साथै अक्सिजनको मात्रा कम्ती भएपछि हाल अक्सिजन लिइरहेको तिनले बताए। तर आफ्ना कार्यकर्ताहरूले असहाय परिवारहरूलाई सहयोग पुर्‍याइरहेको छ भने आफूले फोनमार्फत् तिनीहरूसित सम्पर्क गरेर जानकारी लिइरहेको तिनले बताए। स्मरण रहोस्, गत 12 अप्रेलको दिन विधायक डा. प्रदीप कुमार बर्मा कोरोना संक्रमित भएपछि गत 13 अप्रेलको दिन तिनी सिलगढीको एउटा गैर सरकारी नर्सिङहोममा भर्ना भएका थिए। गत 27 अप्रेलको दिन अस्पतालबाट छुट्टी भएर घर फर्किआए तापनि आफू पूर्ण रूपमा स्वस्थ नभएको तिनले बताए। यसपछि गत 12 मईको दिन तिनको रिपोर्ट नेगेटिभ आए तापनि हालसम्म शरीर अस्वस्थ रहेको साथै अक्सिजनको मात्रा कम्ती भएपछि चिकित्सकहरूको परामर्शअनुसार घरमै अक्सिजन लगाएर उपचार चलिरहेको तिनले बताए। हाल आफू स्वयम् साधारण मानिसहरू समक्ष पुगेर तिनीहरूको सहयोग गर्न असमर्थ रहेको जानकारी दिँदै सरकारी कार्यहरूमा समेत आफूले भाग लिन नसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *