ससुराली पक्षले अपमान तथा कुटपीट गरेको आरोप, झुन्डिएर गरे आत्महत्या

सिलगढी : स्वास्नी र छोरीलाई ससुरालीमा लिन जाँदा कुटपीट गरेपछि आत्म सम्मानमा ठेस पुगेको अनुभव गर्दै घरमा आएर घाँटीमा पासो लगाएर एकजना व्यक्तिले आत्महत्या गरे। उक्त घटना फुलबारी 1 नम्बर अञ्चलको जामुरीभिटा इलाकामा घटेको हो। मृतक व्यक्तिको नाम राजु सरकार बताइएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार लगभग 9 वर्ष अघि राजु र पञ्चमीको बिहे भएको थियो। तिनीहरूको 8 वर्षको एउटी छोरी छन्। केही दिनअघि लोग्ने-स्वास्नीमाझ झगडा हुँदा पञ्चमी छोरीलाई लिएर माइता गएकी थिइन्। हिजो साँझ तिनी स्वास्नी र छोरीलाई भेट्न ससुराली गएका थिए। त्यहाँ तिनलाई स्वास्नीको परिवारका सदस्यहरूले कुटपीट गरेको आरोप रहेको छ। यसपछि तिनी घर फर्किआएपछि घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, राजु सरकारको परिवारका सदस्यहरूले स्वास्नी पञ्चमी र तिनका परिवारविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *