एसडी लिम्बुकृत व्यङ्ग्य संग्रह ‘म’-को लोकार्पण

खरसाङ (निसं): सोनादा क्षेत्र अन्तर्गत मार्गरेट्स होपको बाँसघारीमा स्रष्टा एसडी लिम्बुकृत व्यङ्ग्य संग्रह एउटा कार्यक्रमबीच लोकार्पण गरियो। बाँसघारी प्राथमिक पाठशाला भवनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता एलबी सुब्बाले गरेका थिए भने मुख्य अतिथको रूपमा वरिष्ठ साहित्यकार एवम् हाँस्य व्यङ्ग्यकार सुदर्शन प्रधान अम्बटे उपस्थित थिए। यसैगरी विशिष्ट अतिथिको रूपमा वरिष्ठ स्रष्टा एमएस सुब्बा, गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायतका पञ्चायत सदस्य विवेक सुब्बा, व्यङ्ग्यकार अमित सुब्बा विकल्प, कवि एवम् पत्रकार हनोक थापा, बाँसघारी समाजका सचिव प्रनिता सुब्बा लगायत अन्य उपस्थित थिए। हेमन्त सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण रोशनदीप सुब्बाले राखेका थिए। यसै कार्यक्रममा एसडी लिम्बुकृत व्यङ्ग्य संग्रह लोकार्पण गरियो। कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरू लगायत स्रष्टा एसडी सुब्बा आदिको बाहुलीबाट व्यङ्ग्य संग्रह –को लोकार्पण गरियो। यस अवसरमा बाँसघारी क्षेत्रको साहित्यिक गतिविधि र पृष्ठभूमि विषयमा वरिष्ठ साहित्यकार एमएस सुब्बाले वक्तव्य राखे। कार्यक्रममा हेमन्त सुब्बा, देबेन्द्र सुब्बा, हनोक थापा आदिले कविता, कथा मुक्तक पठन गरेका थिए भने दौवत सुब्बाद्वारा गीत र स्नेह छेत्री, सञ्जीवनी सुब्बा लगायत अन्य नानीहरूले नृत्य प्रस्तुत गरे। कार्यक्रममा स्रष्टा एसडी लिम्बुले आफ्नो वक्तव्यमा उपस्थित सबैलाई धन्यवाद दिए। कार्यक्रममा स्रष्टा अमित सुब्बा विकल्पले कृति विमोचनको अवसरमा साहित्यकारहरूले एसडी लिम्बुलाई पठाएका शुभकामना सन्देशहरू पठन गरेर सुनाए। कार्यक्रममा अधिवक्ता रेमिता सुब्बाले पनि वक्तव्य राखिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *