शङ्कर घोष भाजपा-मा सामेल

सिलगढी : माकपा दार्जिलिङ जिल्ला सचिव मण्डली सदस्य शङ्कर घोषले गत बुधबार आफ्नो दल त्यागेको तीन दिनपछि आज आधिकारिक रूपमा भाजपामा सामेल भए। आज सिलगढीमा भाजपा केन्द्रीय नेता कैलाश विजयवर्गीय, सांसद राजु विष्ट तथा सिलगढी भाजपा अध्यक्ष प्रवीण अग्रवालको उपस्थितिमा शङ्कर घोष भाजपामा सामेल भएको घोषणा गरे। धेरै दिनको अड्कलबाजीलाई समाप्त गर्दै तिनले पार्टी नेतृत्वहरूबाट भाजपाको झण्डा ग्रहण गरे। 


सिलगढी नगरनिगम प्रशासक बोर्डको सदस्य पदबाट गत मङ्गलबार राजीनामा दिएपछि तिनले दल त्याग्ने सम्भावनालाई सही प्रमाणित गर्दै लगत्तै अर्को दिन आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले माकपा छोड्ने घोषणा गरेका थिए। तथापि, तिनले त्यस समय भाजपामा सामेल हुनेबारे जानकारी गराएका थिएनन्। यसपछि बिहिबार मतिगढाको एउटा नीजि नर्सिङहोममा उपचाराधीन अवस्थामा रहेको शङ्कर घोषका आमालाई हेर्नको निम्ति दार्जिलिङका भाजपा सांसद तथा प्रवक्ता राजु विष्ट पुगेका थिए। यस अवधि राजु विष्टले शङ्कर घोषसित एकान्तमा केही समयसम्म कुराकानी गरेको मीडियामा हो-हल्ला मच्चिएपछि शङ्कर घोष भाजपामा सामेल हुने राजनैतिक पर्यवेक्षकहरूले अड्कल लगाइरहेको थियो। ती अड्कलहरू आज सही प्रमाणित भएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *