शंकर घोष तथा शिखा च्याटर्जीले नेशनल हाईवेको समस्या लिएर प्रोजेक्ट डाइरेक्टरसित गरे भेट 

सिलगढी :  सिलगढीका भाजपा विधायक शंकर घोष र डाबग्राम-फुलबारीका विधायिका शिखा च्याटर्जीले आज एनएएच (31-डी)-का प्रोजेक्ट डाइरेक्टरसित भेट गरे। उक्त भेट अवधि विधायकहरूले प्रोजेक्ट डाइरेक्टरसित नेशनल हाईवेमा लाइट लगाइन दिने माग गरे। स्मरण रहोस्, केही दिन अघि जलेश्वरी बजार नजिक एउटा बोल्डर बोकेको ट्रक अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा 4 जनाको मृत्यु भएको थियो भने अन्य 6 जना घाइते भएका थिए। स्थानीय मानिसहरूको आरोप अनुसार नेशनल हाईवेमा लाइट नभएकोले गर्दा रातिको समय सडक अँध्यारो हुने भएकोले वाहनहरूको आवत-जावतको समय यस प्रकारको दुर्घटना हुने गर्दछ। यसैले उक्त समस्याको समाधान गर्ने उद्देश्य लिएर आज  विधायक शंकर घोष र शिखा च्याटर्जी एनएएचएआई कार्यालय पुगेर त्यहाँका प्रोजेक्ट डाइरेक्टरसित कुराकानी गरे। अर्कोतिर, विधायक शंकर घोषले नेशनल हाईवेमा बिजुलीको लाइट लगाइदिने माग गर्दै विविध समस्याहरूबारे प्रोजेक्ट डाइरेक्टरलाई अवगत गराए। नेशनल हाईवेको केही भाग केन्द्र सरकारले देखरेख गर्ने गर्दछ भने केही भाग राज्य सरकार तथा पीडब्ल्युडीले देखरेख गर्ने गरेकोले चाँडै नै पीडब्ल्युडीका अधिकारीहरूसित पनि भेट गर्ने विधायक घोषले बताए। यसैगरी, डाबग्राम-फुलबारीका भाजपा विधायिका शिखा च्याटर्जीले फुलबारीमा 2 किलोमीटरको सडकको निर्माण कार्य हाल ठप्प रहेको बताइन्। केही मानिसहरूले आफ्नो फाइदाको लागि उक्त सडकको निर्माण कार्यमा बाधा पुर्‍याइरहेको तिनले आरोप लगाइन्। यसैले आज यस विषयमा पनि एनएएच (31डी)-का प्रोजेक्ट डाइरेक्टरसित भेट अवधि कुराकानी गरेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *