शिवखोलामा विश्व शान्ति एवम् छेदर पुजा सम्पन्न

खरसाङ: खरसाङको वार्ड नम्बर 5 मा रहेको सामी लाखाङ गुम्बाको धर्म गुरु रिम्पोर्छे पेम्बा लामाको आयोजनामा तीनधारे-महानदी समष्टि अन्तर्गत शिवखोलामा विश्व शान्ति पुजा एवम् छेदर पुजा सम्पन्न गरियो। शिवखोलाको शिव मन्दिर परिसरमा उक्त पुजामा विभिन्न क्षेत्रबाट आएका भक्तजनको उपस्थितिमा विश्व शान्ति पुजा एवम् आयुको लागि छेदर पुजा गरियो। यस अवसरमा खरसाङ लगायत तीनधारे-महानदी समष्टिका विभिन्न क्षेत्रहरू लगायत सिमरिङ र शिवखोला क्षेत्रका मानिसहरू भेला भएर विश्व शान्तिको निम्ति साथै आफ्नो विभिन्न रोगहरू हरण एवम् दीर्घायुको लागि पुजा अर्चना गरेको बताइएको छ। मानिसहरूले पुजा अर्चना गरेर माछाहरू खोलामा बगाएर आफ्नो रोगहरूको हरण गर्नको साथै आयुको लागि प्रार्थना गरे। खरसाङ महकुमा अन्तर्गत शिवखोला धार्मिक पर्यटन स्थलको रूपमा प्रसिद्ध छ। यसै धार्मिक पर्यटन स्थल एवम् शिव मन्दिर परिसरमा आज विश्व शान्ति पुजा साथै छेदरको आयोजना गरियो। यस स्थान विशेष गरी शिवखोला र महानदी खोलाको दोभान हो। यसै स्थानमा सामी लाखाङको धर्म गुरु रिम्पोर्छे पेम्बा लामाद्वारा धेरै वर्षदेखि विश्व शान्ति र छेदरको पुजा गर्दै आइरहेका छन्।

पत्रकाहरूसित कुराकानी गर्दै रिम्पोर्छे पेम्बा लामाले विश्व शान्ति पुजा आज मात्र नभएर धेरै वर्ष अघिदेखि गर्दै आइरहेको बताए। विश्वभरिमा शान्ति श्रृंखला र कोरोना महामारी हटेर जायोस् साथै आयुको लागि पनि पुजा अर्चना गरिएको तिनले बताए। आज छेदरको पुजा गरेर खोलामा माछा बगाएर बिमारीहरू र रोगहरू निको होस् भनेर पुजा अर्चना गरिएको तिनले बताए। रिम्पोर्छे पेम्बाले पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै 2000 सालदेखि टिस्टाको त्रिवेणीमा लगातार तीन वर्षसम्म आफूले पुजा गर्दै आएको र त्यसपछि यहाँ शिवखोलाको शिव मन्दिरमा लगातार रूपमा पुजा गर्दै आइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *