श्रमजीवी अधिकार अभियान आज सातौँ दिन डायना चिया बगानबाट शुरू

बानरहाट: वर्तमान केन्द्र सरकारले पारित गरेको मजदुर विरोधी कानूनहरूको विरोध गर्दै दार्जीलिङ, तराई, डुवर्सका गणतान्त्रिक व्यक्ति विशेष अनि संघ-संस्थाहरूको संयुक्त प्रयासमा श्रमजीवी अधिकार अभियान गत 6 फरवरीदेखि शुरू भएको छ। श्रमजीवी अधिकार अभियानको आज सातौँ दिन डायना चिया बगानमा वन बस्तीका वासिन्दाहरू वन अधिकार कानुन सही रूपमा लागु हुनुपर्ने माग लिएर सामेल भएका थिए भने डुवर्सका विभिन्न चिया बगानहरूबाट मजदुर विरोधी कानुन रद्द गरिनु पर्ने मागमा मजदुरहरू भेला भएका थिए। सरकारी सम्पत्तिहरू नीजिकरण गर्ने केन्द्र सरकारको योजनाको विरोधमा पनि विभिन्न क्षेत्रका युवा विद्यार्थीहरूले यस अभियानमा भाग लिइरहेका छन्।


 


जनहितको पक्षमा आवाज बुलन्द गर्दै अनि सरकारको आक्रमक क्रियाकलापको विरोध जनाउँदै यस अभियान अन्तर्गत आज मध्य डुवर्सको विभिन्न चिया बगानहरूको परिभ्रमण गरियो। डायना चिया बगानबाट शुरू भएको सातौ दिनको अभियान आज देवपाडा, रेड ब्याङ्क, दर्नीपुर, चेङ्गमारी, कैरन, लुक्सान, घाटिया, ग्रासमोर, भक्तपुर, क्रुती, जित, होप, हिला, नगरकट्टा, खुनिया मोड हुँदै साझमा रङ्गो पुग्ने भएको छ। यी चिया बगानहरूमा पथसभा तथा पोस्टरिङ गर्दै क्षेत्रवासीलाई केन्द्र सरकारको फाँसीवादी चरित्रबारे पनि सचेत गराइरहेको छ। सांस्कृतिक कर्मीहरूले जनवादी गीत गाएर अभियानमा थप ऊर्जा थपिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *