सिक्किम दार्जिलिङ एकीकरण मात्र स्थायी राजनैतिक समाधान हो : भरत दोङ

खरसाङ: दार्जिलिङ सिक्किम एकीकरणको मुद्दामाथि देशको प्रधानमन्त्रीलाई पत्राचार गरेको र उक्त पत्रको उत्तर सही नआए व्यक्तिगत रूपमा प्रधानमन्त्रीसित भेट गरेर सिक्किम दार्जिलिङ एकीकरणले राष्ट्रिय सुरक्षाको काम गर्छ भन्नेबारे अवगत गराउने छौँ भन्दै आज गोर्खा राष्ट्रिय कङ्ग्रेसले खरसाङमा एउटा पत्रकार सम्मेलनमा बताए। खरसाङको पत्रकार सम्मेलनमा गोर्खा राष्ट्रिय कङ्ग्रेसका सभापति भरत दोङ, उप सभापति कुमार सुब्बा, सचिव निमा तामाङ, चिफ् को-अर्डिनेटर सुवोध पाख्रीन र सल्लाहकार निमा लामाको उपस्थितिमा पत्रकारहरूलाई सम्बोधन गर्दै सुवोध पाख्रीनले गोरांक-को पक्षमा सिक्किम दार्जिलिङ एकीकरणको लागि गत 28 अगस्तको दिन प्रधानमन्त्रीलाई पत्राचार गरेको जानकारी गराए। उक्त पत्रको एक महिनाभित्र सही उत्तर नआए आफूहरू व्यक्तिगत रूपमा गएर यसबारे कुराकानी गर्ने साथै यो मुद्दा राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र राष्ट्रिय अखण्डताको लागि हो भन्ने बारे प्रधानमन्त्रीलाई अवगत गराउनेछौँ भनी तिनले बताए। आज खरसाङमा आउनुको कारण सिक्किमको छोगेल राजा खरसाङमा जन्मिएका थिए, त्यसैले हामी खरसाङलाई प्राथमिकता दिन्छौं भनी बताए। चिफ् को-अर्डिनेटर सुवोध पाख्रीनले हाम्रो एउटै मुद्दा सिक्किम दार्जिलिङ एकीकरण हो र यस विषयमा हामीले देशको प्रधानमन्त्री, गृहमन्त्री, बंगालका राज्यपाल, सिक्किमका राज्यपाल, सिक्किमका मुख्यमन्त्री र दार्जीलिङका सांसद राजु विष्टलाई पत्राचार गरिसकेको बताए। त्यसरी नै पत्रकारहरूले सोधेका प्रश्नको जवाबमा गोर्खा राष्ट्रिय कङ्ग्रेसका सभापति भरत दोङले स्थायी राजनैतिक समाधान भनेको नै सिक्किम दार्जिलिङ एकीकरण हो भनी बताए। तिनले एकीकरणपछि स्थायी राजनैतिक समाधान भएर जाने तिनले दावी गरे। तिनले स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्याण्ड होइन किनभने गोर्खाल्याण्डको मुद्दा 1986 मा च्याप्टर क्लोज भएको बताउँदै स्थायी राजनैतिक समाधान छैटौं अनुसूची पनि होइन, युटी पनि होइन भनी बताए। दोङले गोर्खाल्याण्ड, छैटौं अनुसूची, युटी स्थायी राजनैतिक समाधान नभएर टीपीएस मात्र हो अर्थात् अस्थायी राजनैतिक समाधान मात्र रहेको तर सिक्किम दार्जिलिङ एकीकरण मात्र स्थायी राजनैतिक समाधान हो भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *