गान्तोक: सिक्किमका तेस्रो मुख्यमन्त्री तथा वरिष्ट राजनीतिज्ञ बीबी गुरूङको आज 28 मार्च 2022 बिहान 6 बजी गान्तोक लुम्सेस्थित निजी निवासमा 93 वर्षको उमेरमा निधन भयो। तिनको निधनले सिक्किमलाई ठूलो क्षति पुगेको छ भने राज्यभरिमैं शोकको माहौल छाएको छ। सिक्किममा राजतन्त्र हचाएर प्रजातान्त्र स्थापना गर्नमा स्व. बीबी गुरूङको ठूलो भूमिका रहेको थियो। तिनको निधनको खबर सुन्न साथ सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोले मृतकको घरमा पुगेर बीबी गुरूङको शव दर्शन गरेर खदा चढाए। यसको साथै शोकाकूल परिवारका सदस्यहरूसित भेट गरेर गहिरो शोक संवेदना व्यक्त गरे। यसैगरी, पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट-का अध्यक्ष पवन कुमार चामलिङले पनि पूर्व मुख्यमन्त्री तथा वरिष्ट राजनीतिज्ञ बीबी गुरूङको निधनमा गहिरो शोक प्रकट गर्नको साथै तिनको निधनले सिक्किमलाई ठूलो क्षति पुऱ्याएको तिनले बताएका छन्।
