सिक्किमलाई पराजित गरेर नवाङ्कुर सङ्घ सिलगढ़ी फाइनलमा

सिलगढी : आक्रमण एफसी सिक्किमलाई पराजित गरेर नवाङ्कुर सङ्घ सिलगढ़ी, मिलन मोड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मधुर मिलन संघ मिलन मोड़ सिलगढीको सफल आयोजनामा सम्पन्न भइरहेको सातौं फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत आज शुक्रवार दोस्रो सेमिफाइनल म्याच आक्रमण एफसी सिक्किम बनाम नवाङ्कुर सङ्घ सिलगढ़ीमाझ भिडन्त भयो। खेलको सुरूदेखि नै आक्रमक रूपमा देखिएको नवाङ्कुर सङ्घ टोलीका खेलाड़ी प्रणय राईले खेल शुरू हुने बित्तिक्कै लगभग दुई मिनटमा नै पहिलो गोल गरेपछि विपक्षी टोली दबाउमा देखा पाऱ्यो। यद्धपि खेलको 43 औ मिनटमा आक्रमण एफसी सिक्किमका खेलाड़ी रोमन छेत्रीले खुबै दर्शनीय गोल गरेर स्कोर बराबरी 1-1 मा पुऱ्याए। यसपछि दोस्रो हाफको खेल अन्तर्गत 73औ मिनटमा पाएको पेनल्टीलाई सुन्दर ढंगमा नवाङ्कुर सङ्घका जण्डा खेलाड़ी अबु रिनाल्डिनोले गोलमा परिणत गरे।


 

यसपछि खेलको 82 औ मिनटमा फेरि नवाङ्कुर सङ्घका खेलाड़ी तिमोले विपक्षी नेटमा गोल छिऱ्याएर आफ्नो जीत सुनिश्चित गर्नको साथै 3-1 गोलको अन्तरमा म्याच जितेर टोलीलाई फाइनलमा प्रवेश गराए। आजको रोमाञ्चक सेमिफाइनल खेलमा राम्रो खेलको प्रदर्शन गर्ने नवाङ्कुर सङ्घका खेलाड़ी अबु रिनाल्डिनोलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। यसैगरी, आजको दोस्रो सेमिफाइनल खेलमा प्रमुख अतिथिका रूपमा दार्जिलिङका सांसद राजु विष्ट उपस्थित थिए। उक्त मिलन मोड़ गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेला आगामी 12 जनवरीको दिन नवाङ्कुर सङ्घ सिलगढ़ी बनाम युनाइटेड एफसी दार्जिलिङमाझ हुनेछ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *