सिक्किममा बनिने फिल्मलाई 1 करोड रुपियाँ आर्थिक सहयोग गर्ने सिक्किम सरकारको अनौपचारिक घोषणा

गान्तोक : सिक्किम राज्यको पर्यटन अनि राज्यका कलाकारहरूलाई लाभ पुग्ने प्रकारका फिल्महरू बनिए उक्त फिल्म निर्माता कम्पनीलाई राज्य सरकारले 1 करोड रुपियाँ आर्थिक सहयोग गर्ने सिक्किमका मुख्यमन्त्री पीएस गोलेले अनौपचारिक घोषणा गरेका छन्। भोइस अफ नेपालका फाइनलिस्ट तथा सिक्किमका युवा गायक रवि गतराजको सिमाना पारि नामक म्युजिक भीडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै तिनले उक्त घोषणा गरेका हुन्।  नेपालका टोलीद्वारा निर्मित उक्त म्युजिक भीडियोको सम्पूर्ण छाँयाकन सिक्किमका विभिन्न पर्यटकीय स्थलहरूमा गरिएको छ। मुख्यमन्त्री गोलेको सोही सन्देश लिएर मन्त्री डा. एमके शर्माको नेतृत्वमा सिक्किम राज्य चलचित्र बोर्ड अध्यक्ष पुजा शर्मा सहित एउटा प्रतिनिधि टोली केही दिनअघि नेपाल गएको थियो। यस अवधि उक्त टोलीले काठमाडौँमा नेपाल चलचित्र बोर्ड अध्यक्ष दयाराम दाहाल, सुपरस्टार भुवन केसीलगायत नेपाली चलचित्र जगतका नामी कलाकारहरूसित भेट गरेर सिक्किम सरकारले अनौपचारिक रूपमा लिएको घोषणाबारे चर्चा परिचर्चा गरे। सिक्किमका मुख्यमन्त्री पीएस गोलेको उक्त घोषणालाई नेपाल चलचित्र बोर्ड अध्यक्ष दयाराम दाहाल अनि सुपरस्टार भुवन केसीले खुलेर प्रशंसा गर्दै स्वागत जनाए। कुराकानी अवधि बोर्ड अध्यक्ष दयाराम दाहालले सिक्किम सरकारको यस अनौपचारिक घोषणालाई कतिपय प्रोटोकलहरू पालन गर्दै चाँडै औपचारिक रूपमा परिणत गर्न सके दुवै पक्षलाई फाइदा हुने सुझाउ पनि राखे। अर्कोतिर, सिक्किम चलचित्र बोर्ड अध्यक्ष पुजा शर्माले राज्य सरकारले लिएको उक्त निर्णय सशर्त लागू हुने साथै सिक्किममा बनिने फिल्मको सबै पक्ष हेरेर मात्र सरकारले उक्त फिल्मलाई आर्थिक सहयोग प्रदान गर्ने बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *