सिलगढी नगर निगम चुनाउमा एउटै वार्डमा भाजपा र तृणमूल प्रार्थीको रूपमा दाजु-भाईमाझ चुनावी प्रतिस्पर्धा

सिलगढी: सिलगढी नगर निगमको चुनाउमा यस पल्ट तृणमूल कङ्ग्रेस र भाजपा बीच सोझै प्रतिस्पर्धा हुने अधिक सम्भावना रहेकोले यसलाई लिएर निक्कै रोचक बन्दै गइरहेको छ। हाल दुवै पार्टीका नेताहरूले ठूल्ठूला विकासका सपनाहरू देखाउँदै मानिसहरूको घर-घरमा पुगेर आफ्नो पार्टीका प्रार्थीहरूलाई मतदान गरेर जिताउने अपिल गर्दै आइरहेको देखिन्छ। विशेष गरेर यसपल्टको चुनाउमा 1 नम्बर वार्डमा दुई पार्टी क्रमैले तृणमूल र भाजपा प्रार्थीका रूपमा खडा भएका दुई दाजु-भाईमाझ कठोर प्रतिस्पर्धा हुने लख काटिएको छ। 1 नम्बर वार्डबाट भाजपा प्रार्थीको रूपमा कन्हैया पाठक अनि तृणमूल कङ्ग्रेसको तर्फबाट सञ्जय पाठकले चुनाउ लड्ने भएका छन्। हाल ती दुई भाई नै चुनाउ प्रचार गर्नमा व्यस्त देखिन्छन्। स्मरण रहोस, सञ्जय पाठक पनि कुनै एक समय भाजपा कार्यकर्ता थिए तर पछि तिनी कङ्ग्रेसमा सामेल भएर 1 नम्बर वार्डबाट नै गत 2009-मा कङ्ग्रेस प्रार्थीको रूपमा विजयी बनेका थिए। वर्ष 2009 देखि 2014 सम्म तिनी कङ्ग्रेसको वार्ड पार्षद थिए। तर यसपछि तिनी तृणमूल कङ्ग्रेसमा सामेल भए। तिनी 2014-को सिलगढी नगर निगम चुनाउमा फेरि तृणमूल कङ्ग्रेसको टिकटमा वार्ड नम्बर 3 बाट चुनाउ लडे तापनि तिनले हारको सामना गर्नु परेको थियो। तथापि, एकपल्ट फेरि तृणमूल काङ्ग्रेसले सञ्जय पाठकमाथि ठूलो भरोसा राखेर आउँदो नगर निगम चुनाउमा 1 नम्बर वार्डबाट चुनाउ टिकट दिएको छ। अर्कोतिर, भाजपा उम्मेदवार कन्हैया पाठकले अफ्नो राजनीतिक जीवन कङ्ग्रेसको छात्र परिषदबाट शुरू गरेर 2014 मा भाजपामा सामेल भएका थिए। हाल तिनलाई भाजपाको एकजना प्रभावशाली नेताको रूपमा मानिन्छ। आउँदो नगर निगम चुनाउको लागि भाजपाले तिनलाई विश्वास गरेर 1 नम्बर वार्डबाट चुनाउ मैदानमा खडा गर्ने निर्णय लिइसकेको छ। तृणमूल कङ्ग्रेस उम्मेदवार सञ्जय पाठकसित कुराकानी गर्दा तिनले 1 नम्बर वार्डका मानिसहरूसित आफ्नो गहिरो सम्बन्ध रहेको दावी गरेका छन्। तिनको भनाई अनुसार तिनको प्रतिस्पर्धा चुनाउमा भाजपासित सोझै नभएर आरएसपी उम्मेदवारसित हुनेछ। यसैगरी, कन्हैया पाठकले यो चुनावी लडाई हो, जनताले कसलाई मतदान गरेर जिताउने छ, त्यो कुरा आउने दिनहरूमा थाहा पाइहाल्ने बताएका छन्। यस विषयमा सञ्जय पाठकका दाजु तथा दार्जिलिङ जिल्ला कङ्ग्रेस नेता राजीव पाठकसित जान्न चाहँदा तिनले भने, पार्टी आफ्नो ठाउँमा छ भने परिवारको सम्बन्ध आफ्नै जग्गामा छ। चुनाउमा कसले जित्छ भन्ने कुरा जनताले तय गर्नेछ। समग्रमा भन्नु पर्दा, सिलगढी नगर निगम चुनाउको वार्ड नम्बर 1-मा यसपल्ट दुई दाजु-भाईमाझ हुने प्रतिस्पर्धाले गर्दा सबैको राजनैतिक गिद्धे नजर यहीं वार्डमाथि पर्नको साथै राजनीतिक पारा पनि चढेर माथि पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *