सिलगढीबाट केएलओ सदस्य अविनाश पक्राउ

सिलगढी : एसटीएफ-ले सिलगढीबाट सरकारले प्रतिबन्धित गरेको संगठन केएलओ-का एकजना सदस्यलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत राति एसटीएफले सिलगढीको खालपाडाबाट अविनाश राय नाम गरेको एकजना युवकलाई पक्राउ गरेको छ। असम निवासी अविनाशले केही दिन अघिदेखि सिलगढीको खालपाडामा छद्म भेषमा श्रमिकको रूपमा काम गर्दै आइरहेका थिए भने त्यहाँका व्यवसायीहरूबाट रुपियाँ उठाउने तिनको योजना रहेको बताइएको छ। तिनीसित अझ केही केएलओ-का सदस्यहरू पनि सिलगढी लगायत उत्तर बङ्गालमा प्रवेश गरेको हुनसक्ने एसटीएफ-ले अनुमान लगाएको छ। गत राति एसटीएफको उत्तरबंग शाखाका अधिकारीहरूले गोप्य सूचनाको आधारमा सिलगढीको खालपाडाबाट अविनाश नाम गरेको केएलओ-का एकजना सदस्यलाई पक्राउ गरेको छ। अविनाशसित अन्य केही व्यक्तिहरू पनि संलग्न रहेको आशंकामा एसटीएफले तिनीहरूको खोजी शुरू गरेको बताइएको छ। आज अविनाशलाई सिलगढी अदालतमा पेश गरेपछि तिनलाई अदालतले पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ। एसटीएफका डीएसपी सुदीप भट्टाचार्यले बताएअनुसार केएलओका एकजना सदस्यलाई पक्राउ गरेपछि आज अदालतमा पेश गरेर 14 दिनको पुलिस हिरासतमा पठाउने आवेदन गरेअनुसार तिनलाई पुलिस हिरासतमा अझ विस्तृत छानबीनको लागि पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *